कविता- बिपत्ति !
  • नरबहादुर घर्ती

  • मैंले कसरी हेरुँ? यो बिपत्ती!
    बाढिले बगाउँदै गरेको मेरो कुकुरले,
    वडो सकसले भुक्दै मलाई बोलाएको।
    मैंले कसरी सुनुँ?
    सन्तान गुमाएर आंँफु बग्दै गर्दा,
    गाई भैंसिले कराएर बिलौँना गरेको।
    म पो तेस्रो तलामा भयर बाचेँ र !
    विचरा भुइँ र दोस्रो तल्लाका ती निर्दोषहरु!
    मेरै निम्ति जिवनभर खटिरहे र!
    आखिर मैंले नै देखी- देखी बगे।

    मेरो मुख चाट्ने कुकुर बग्यो।
    आडमै घुरेर सुत्ने बिरालो बग्यो।
    पुच्छर ठाडो पारेर दूध चुस्ने मालिगाइको बाच्छो बग्यो।
    मैंले दूध खाने भैंसी रुँदै बग्यो।
    वल्तिर पल्तिर बुर्कुसी मार्ने पाठापाठी र बाख्रा बगे।
    हाँस कुखुरा र अन्नपात बगे।
    साधन बगे,सामग्री बगे,
    भएभरका सारा चिजबिज बगे।
    दाम्लै संग हल गोरु बग्यो।
    गहनागुरिया र नगद राखेको बाकसै बग्यो।
    हजुर आमाका सुनका बाला पुरिए।
    नातिको भातख्वाईको थाली पुरियो।
    छोराछोरी र बुहारिका प्रमाणपत्र हराए।
    मेरा लालपूर्जा र नागरिकता बेपत्ता भए।
    जुन खेतको अन्नले हामी हुर्क्यौं बढ्यौं
    हेर्दाहेर्दै बगर भयो।
    जुन बस्तिमा म हर्दम रमाउँथें,
    क्षणभरमै सन्नाटा छायो।
    आंँखाका गाजलहरु आँसुले बगाए ।
    खुशी र मनसुवाहरु फुँङ्ग उडे।
    बिलौंंनाहरु भक्कानिए,
    घुंँक्का र चित्कारहरुले मन मुटु तड्पिए।
    इच्छा आकाँक्षा र योजनाहरु पुरिएका छन्।
    सम्पदा सभ्यता र धरोहरहरु ढलेका छन्।
    पानी खाने धारो छैन।
    घामपानीबाट ओतिने थलो छैन।
    अन्त जाने बाटो छैन।
    टेकेर अडिने माटो छैन।

    परारसाल पश्चिम डुब्यो, पोहर साल पूर्व डुब्यो,
    वर्षै पिच्छे कहिं न कहिँ डुबेकै छ।
    यो साल मेलम्ची डुब्यो।
    कहिले मध्य डुब्छ, सुस्ता डुब्छ।
    कहिले सिराहा सप्तरी ,सुनसरी डुब्छ
    हरेकसाल जनधन डुब्छ डुब्छ। डुबेकै हुन्छ।
    यसरी नै डुब्छ।
    मान्छे डुब्छ, पशुचौपाया र अन्नपात ,सम्पति डुब्छ।
    सपना डुब्छ,भविष्य डुब्छ।
    वस्ती डुब्छ, समाज डुब्छ।
    यसरी नै डुबिरहे, बिस्तार- बिस्तार देशै डुब्छ।

    दुई वर्ष अघिको कुरो,
    एउटा छिमेकिको छोरो।
    इन्जिनियर बनेर देश बनाउने इछ्याले ,
    काठमाण्डौमा इन्जिनियरिङ्ग पढ्दै थियो।
    लामो समययपछि आमा बा र गाउंको असेटले,
    बस चढेर सिन्धुपालचोकको गाउँ फर्कियो।
    मनमा बडो उत्साह थियो।
    बिकास कसरी हुन्छ? देश कसरी बन्छ भनेर,
    आफुले पढेका कुरा ,
    बा आमा र गाउँलेलाई भन्न आतुर थियो।
    घर पुग्नै लाग्दा खोलाको पुलमा गाडी रोकियो।
    उसलाई कतिखेर पुगुँजस्तो भो! हतार भो अत्यास भो।
    खल्तिबाट मोबाइल निकालेर आमालाई फोन गर्यो।
    भन्दै थियो ,
    आमा म आईसकें, केहिछिनमै भेड्किन्छु।
    उताबाट आमाले खुशी हुँदै भन्नुभो!
    ल ल छिटो आउ मेरो छोरा !
    म पर्खेर बसिराखेकी छु।
    तर त्यसपछी ,
    आमाले छोराको कुनै स्वर सुन्न पाइनन्।
    एकैछिनमा गाउंभरि हल्ला भो!
    पुलमा रोकियको गाडी ,
    पुलैसहित बाढिले बगायो रे!

    सालै पिच्छे छोरा बग्छन्, छोरी बग्छन्।
    इन्जिनियर बग्छन्, डाक्टर बग्छन्, ,आम नागरिक बग्छन्।
    फोनमा आमालाई उत्तर दिन नपाउँदै बाढिले बगाउँछ।
    पहिरोले पुर्छ, ढुँङ्गाले टाउको फोर्छ।
    धेरैको बोल्ने रहर अपुरै हुन्छ।
    भेट्ने र देख्ने इछ्या अधुरै रहन्छ।
    अनि राज्य!
    राहत लिएर दौडधुप गर्छ।
    सहयोगका निम्ति हारगुहार र अपिल गर्छ।
    सहयोगकर्ता, उद्वारकर्ता र राहतकर्ताहरु मैदानमा खटिन्छन्।
    लागेर पुगेसम्म सबै गर्छन्।
    तर के गर्नु!
    हुनुत भै नै सक्यो।
    अब न त जीवन फर्किन्छ, न त्यत्तिकै संरचना उठ्छ।
    त्यसैले यो क्षति राज्यको हो।
    यसरी वर्षैपिच्छे जनशक्ती र सम्पत्तिको क्षति हुँदा ,
    राज्य पछाडी पर्छ।
    अत: यसको ब्यबस्थापन,
    राज्यले नै गर्नुपर्छ।

    नीति बनाउंँनु पर्यो!
    बस्ती कहाँ? उद्योग कहाँ? कृषि कहाँ? व्यापार कहाँ?
    डिजाइन गर्नुपर्यो,
    घर कस्ता? बाटो पुल कस्ता? उद्योगधन्दा र,
    ठूला साना सबै संरचना कस्ता? भनेर।
    पूर्वतयारी हर्दम हुनुपर्यो,
    बिपत्तिमा कहाँ कसले कतिखेर के गर्ने भनेर!
    अझ मूल कुरो कारण पहिचान गर्नुपर्यो,
    यी बिपत्ती बार-बार किन आईरन्छन भनेर!
    कतै हामी प्रकृति बिरुद्ध गैरहेका त छैनौं?
    जंगल र भुगोल मासेर,
    टाकुराको तीन घरलाई
    करोडौं खर्चेर लगेको बाटोले तलको बस्ती के गर्ला?
    बरु बाटोको निर्माण र मर्मत खर्चले ,
    तीन घर तलै झार्दा वातावरण र पर्यावरण बच्थ्योकी?
    नदि ताल र खोला किनारमा,
    अतिक्रमित वस्ती नबसाउँदा यस्ता बिपत्ती कम हुन्थ्योकी?
    बृहत् अध्ययन र निस्चित मापदण्ड अनुरुप ,
    प्राकृतिक साधन स्रोतको उपयोगले,
    क्षति अलि निम्तिदैनथ्यो की?
    बाटोघाटो र बस्ती बिकासको योजना, राज्यलेनै गरे,
    मनपरी भूक्षय र पर्यावरणीय क्षति कम हुन्थ्योकी?

    मूल , सिमसार र तालतलैया जोगाऔँ।
    खोला , नदिनाला र झरनालाई स्वतन्त्र बग्न दिऊँ।
    बनस्पती, जडिबुटी र बन्यजन्तुको संरक्षण गरौं
    प्रकृतिको रुप बिगार्ने चेष्टा नगरौं
    धर्ती आकाश र वायुमण्डललाई सम्मान र संरक्षण गरौं!
    मनपरी प्रकृतिको प्रयोग र दोहन नगरौं।
    यो सम्पूर्णको ब्यबस्थापन हेतु,
    राज्यले स्थाई प्रकृतिको निकाय तयार पारौं।

    अब मैंले सुन्न र देख्न सक्दिन,
    चिच्याउँदा चिच्याउँदै भाग्न नसकेर हजुर आमा पुरिएको!
    तान्दातान्दै हातै चुँडिएर,
    काखे नानी आमा बाट छुट्टिएको।
    अबोध पशु बरा!
    आँसु झार्दै , गोसायँको सहारा खोज्दै बगिरहेको।
    बिपत्तिको बज्रपातले,
    नखुलेको ओँठ र आँखा सुन्निएको।

    जोसुकैलाई पर्ने बिपत्ती हो, आऊँ सवै जुटौं।
    मानविय कर्मले दु:ख पीडा बिर्साऔँ।
    प्रकृतिको पनि अर्थ बुझौं र सम्मान गरौँ।
    हामी मानव एक हौँ र पिडाको ब्यबस्थापन गरौं।
    अब कोहि बग्न नपरोस्।
    अब केही डुब्न नपरोस्।
    हामी सबैले कामना गरौं।
    फेरि कहिले नआओस् यो बिपत्ति!
                                                                                           

     

     

                                                    नरबहादुर घर्ती
                                                  रामपुर-३ पाल्पा

  • १० असार २०७८, बिहीबार १८:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images