काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचारसहित आवश्यक सबै प्रबन्ध गर्ने बताउनुभएको छ ।
नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई आज भर्चुअलरुपमा सम्बोधन गर्दै उहाँले आजका बालबालिकालाई शारीरिक र मानसिक रुपले सबल, शैक्षिक हिसाबले उकृष्ट र प्रतिस्पर्धात्मक क्षमतायुक्त बनाउँदै लैजान सकिए मात्र भोलि देशले देशभक्त र कर्मठ युवाको नेतृत्व पाउनसक्ने बताउनुभयो ।
बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हक समेत नपाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसतर्फ विगतका प्रायः सबै सरकारको ध्यान नगएको र कहिले काहीँ बालमन्दिर जस्ता संस्था निजी स्वार्थका माध्यम हुन पुगेको पनि उहाँले बताउनुभयो ।
यसका साथै त्यस्ता संस्थाहरुले कहिलेकाहीँ आफ्नो उचाई विपरित सङ्कीर्ण दायरामा आफूलाई प्रस्तुत गरेको समेत उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘‘परिणामस्वरुप नेपाली बालबालिका अभिभावकबिहीन हुने र संरक्षण गर्ने कोही नहुने स्थितिमा समेत पुगे । हाम्रा छोराछोरी खाते भन्दै बदनाम गरिए ।
यसका साथै विभिन्न ढंगले व्यक्तिगत स्वार्थमा बालबालिकिालाई प्रयोग गर्ने काम समेत भए । कहिँ रित पुर्याएर त कही गुपचुप ढंगले बालबालिकाको दुरुपयोग भयो आगामी दिनमा आगामी दिनमा यस्ता कुरालाई सम्पूर्ण रुपले रोक्नुपर्छ ।’’