अवैध रूपमा इराक पुगेका नेपाली कामदार अलपत्र, दूतावास भन्छ -उद्धारको पहल गर्छौं
  • CIA Khabar

  • नेपाल सरकारले नेपाली कामदारलाई इराक जान एक दशकयता प्रतिबन्ध लगाउँदै आएको छ । तर, केही म्यानपावर कम्पनी र मानव तस्करीको सेटिङमा नेपाली कामदार आकर्षक तलबको प्रलोभनमा परी विभिन्न देश हुँदै अवैधानिक बाटोबाट इराक पुग्ने गरेका छन् ।

    भिजिट भिसामा यूएई हुँदै इराक पुगेका नेपाली महिला कामदार कोरोनाका कारण रोजगारी गुमेपछि अलपत्र पर्न थालेका छन् ।

    मोरङ बाहुनेकी कविता नेपाली माघ दोस्रो साता भिजिट भिसामा यूएई पुगिन् । यूएई पुगेको एक सातामा उनी कुवेत हुँदै इराक पुगिन् । आफूलाई एजेन्टले इराक पुर्‍याएको उनको भनाइ छ ।

    भिजिट भिसामा यूएई गएकी उनी त्यहाँ काम नपाएपछि एजेन्टले ओमानको कपडा कम्पनीमा काम लगाइदिने भन्दै इराक पुर्‍याएको बताउँछिन् । कविताका अनुसार उनी इराकस्थित टिक्रिट शहरको उत्तरी क्षेत्रमा रहेको एक नीजि विद्यालयको होस्लेटमा सरसफाईको काम गर्थिन् । तर, कोरोनाका कारण होस्टेल बन्द भएपछि दुई महिनायता होस्टेलकै टहरामा अलपत्र परेको उनको भनाइ छ ।

    ‘मोरङका एजेन्ट राजनाथ चौधरीले हामीलाई भिजिट भिसामा यूएई पठाएका हुन् । समस्या परेर फोन गर्दा उनले उठाउँदैनन् । कुवेतस्थित नेपाली दूतावासको पनि फोन उठदैन । हामी त मरुभूमिभित्र फस्यौँ,’ कविता भन्छिन्, ‘नेपाल चाँडै नफर्किए जरिवाना तिर्नुपर्छ रे । साहुले कुवेतसम्म पुग्ने खर्च मात्र दिने भएको छ । कोरोनाका कारण पढाइ नभएपछि होस्टेल बन्द हुँदा दुई महिनादेखि काम नगरी बसेका छौँ ।

    विदेश आउँदा लागेको ऋण अहिलेसम्म तिर्न नसकेको बताउँछिन् उनी । उनलाई अहिलेसम्म होस्टेलले खान बस्न दिएको छ ।

    कवितासँगै छन् रामेछापकी अम्बिका क्षेत्री र सिन्धुपाल्चोक हेलम्बुकी तिलदेवी बिक । उनीहरू पनि कविता जस्तै इराकमा अलपत्र परेका छन् । भिजिट भिसामा यूएई जान एजेन्टलाई २ लाख १० हजारका दरले दिएको उनीहरूको भनाइ छ ।

    कविताका अनुसार भिजिट भिसामा यूएई पुगेका धेरै नेपाली महिला कामदारलाई एजेन्टले इराक पुर्‍याउने गरेका छन् । इराक पुगेका आफूजस्ता धेरै महिला कामदारले कोरोनाका कारण रोजगारी गुमाएर अलपत्र परेको उनको भनाइ छ ।गत वर्ष भिजिट भिसामा यूएई हुँदै इराक पुगेकी पाँचथरकी दिल्पा शेर्पा पनि इराकमा अलपत्र परेको बताउँछिन् । इराकको तलअफर शहरनजिकै एक आवासगृहमा काम गर्दै आएकी शेर्पा पनि कोरोनाका कारण रोजगारी गुमेपछि स्वदेश फर्किन नपाएर अलपत्र परेको बताउँछिन् ।

    एजेन्टले यूएई हुँदै इराक पुर्‍याएको बताउने दिल्पा त्यहाँ एक वर्ष काम गरेको बताउँछिन् । कोरोनाका कारण साहुले गत महिनादेखि घर जानु भनेको उनले जानकारी दिइन् ।

    ‘इराकबाट सिधा नेपालमा उडान छैन । कुवेत या बहराइन हुँदै जानुपर्छ । त्यहाँसम्म जाने अवस्था छैन । कुवेत र बहराइनमा रहेको नेपाली दूतावासमा फोन गर्दा हत्तपत्त उठदैन,’ दिल्पा भन्छिन्, ‘इराकमा कमाएको र केही पैसा ऋण गरेर भए पनि फर्किन्थेँ । कोरोनाका कारण समस्या भयो । नेपाल फर्किने बाटो र हवाई उडानसम्म जाने सक्ने अवस्था भएन ।’

    इराकमा विदेशी महिलालाई बाहिर हिँड्दा प्रहरीले पक्रिने डर छ । सोही कारण इराकमा कार्यरत नेपालीहरूसँग सहयोग मागेर फर्किन खोजीरहेको दिल्पाले बताइन् । उनका अनुसार इराकमा कोरोनाका कारण नेपाली महिलाले मात्र होइन पुरुषले पनि रोजगारी गुमाएर अलपत्र परेका छन् ।

    आफूहरूको उद्धारमा सम्बन्धित निकायले चासो नदिँदा समस्या झेलेर इराकमै बस्नुपरेको गुनासो छ उनको । कोरोनाका कारण रोजगारी गुमाएका कतिपयलाई नेपाल फर्कन तथा इराकमै खान बस्नको समस्या भएको उनले बताइन् ।

    इराकमा रहेका नेपाली कामदारको समस्या कुवेतस्थित नेपाली दूतावासले हेर्दै आएको छ । हाल इराकमा २० हजाभन्दा धेरै नेपाली कार्यरत रहेको सरकारी अनुमान छ । यद्यपी अवैध बाटो हुँदै इराक पुगेका नेपालीहरूको यकिन तथ्यांक भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छैन ।

    नेपाली कामदारलाई इराक जान सरकारले प्रतिबन्ध लगाएको र अवैध बाटो भएर इराक जानेहरूलाई रोक्ने प्रयास भइरहेको बताउँछन् कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी ।

    इराकमा अलपत्र परेका नेपाली कामदारको उद्धारका लागि सम्बन्धित पक्षसँग छलफल र पहल गरिने भण्डारीले बताए ।

    रोजगारीका लागि इराक पुगेर मृत्यु भएका नेपालीको शव रोकिएको निवेदन दूतावासमा परेको छ । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा मृतकको शव ल्याउन नसकिएको दूतावासको भनाइ छ । उनीहरूको शव पनि कुवेत हुँदै नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ ।

  • ११ असार २०७८, शुक्रबार ०९:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images