काठमाडौँ । गृहमन्त्री विष्णु पौडेलले जिम्मेवारीपूर्वक नतिजामुखी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।
शुक्रबार मन्त्रालय पुगेर कार्यभार सम्हाल्दै गृहमन्त्री पौडेलले सुरक्षा निकायका प्रमुखलाई जिम्मेवारीपूर्वक नतिजामुखी काम गर्न निर्देशन दिएका हुन् । उनले मातहतका कार्यालयको काममा आफूले हस्तक्षेप नगर्ने तर आफूलाई नतिजा चाहिने जिकिर गरे ।
मन्त्री पौडेलले व्यक्तिगत हितको काममा आफूलाई भेट्न नआउन निर्देशन दिए । त्यस्तै उनले अदालतमा भएका मुद्दा र राजनीतिक परिस्थितिको प्रभाव गृह प्रशासनमा पार्न नहुने भन्दै नियमित काममा केन्द्रीत हुन पनि निर्देशन दिए ।
गृहमन्त्री पौडेलले मनसुनको अवस्थामा हुन सक्ने प्राकृतिक प्रकोपपछिको उद्धारको काममा तयारी अवस्थामा जुट्न निर्देशन दिए ।
उनले अहिले दलीय व्यवस्थाको निर्दलीय परिभाषा गर्ने चेष्टा भएको भन्दै दलीय व्यवस्थाप्रति गहिरो प्रतिवद्धता रहेको स्पष्ट पारे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारीमा हेरफेर गर्दै उपप्रधानमन्त्री समेत रहेका पौडेललाई गृहसहित अर्थ मन्त्रालय, गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति र जलस्रोत तथा सिंचाई गरी ५ मन्त्रालयको जिम्मेवारी दिएका छन् ।