काठमाडौँ । इटाली युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार बिहान सम्पन्न दोस्रो प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको हो ।
इटालीलाई जित दिलाउन दुई परिवर्तित खेलाडी फेडरिको चिसा र माटियो पेसिनाले एक/एक गोल गरे । अष्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए ।
प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
खेलको ९५औं मिनेटमा चिसाले गोल गर्दै इटालीलाई १-० गोलको अग्रता दिलाए । खेलको १ सय ५औं मिनेटमा पेसिनाले गोल गर्दै इटालीलाई २-० को अग्रता दिलाए ।
११४औँ मिनेटमा अष्ट्रियाका सासाले एक गोल फर्काए पनि इटाली २-१ ले विजयी भयो ।
जितसँगै इटाली क्वाटरफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ । अष्ट्रिया भने प्रतियोगिताबाट बाहिरिएको छ । इटालीले क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ ।