आज विपक्षी गठबन्धन पक्षधर अधिवक्ताको बहस सकिने
  • CIA Khabar

  • काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज रिट निवेदक प‍क्षको बसह सकिदै छ ।

    विपक्षी पाँच दलको गठबन्धनमा आवद्ध सांसदहरुको हस्ताक्षरसहित दायर रिटमा आज उनीहरु पक्षधर कानून व्यवसायीको बहस सकिने भएको हो ।

    सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदकका लागि छुट्टाइएको १२ घण्टाको समयमा शुक्रबारको बहस सकिँदासम्म २ घण्टा ३५ मिनेट बाँकी रहेको छ ।

    संवैधानिक इजलासमा यही असार ९ गतेदेखि रिट निवेदक पक्षको बहस शुरू भएको बहसमा शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए ।

    बाँकी रहेको समयमा रिट निवेदकको पक्षले बहस सकेपछि सरकारी पक्षको बहस शुरू हुनेछ । सरकारी पक्षका लागि १५ घण्टाको समय दिइएको छ । यो बसहपछि विपक्षी गठबन्धनको पक्षधरले उठाएका सवालको जवाफ दिन थप ३ घण्टाको समय दिइनेछ ।

    सरकारी पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, महान्यायाधिवक्ता रमेश बडालसहित सहमहान्यायधिवक्ता,नायब महान्यायाधिवक्तासहित ११ जनाले बहस गर्नेछन् ।

    प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्ने मागसहित विपक्षी गठबन्धनका पाँच दलमा आवद्ध १४६ जना तत्कालीन सांसदको संयुक्त रिटसहित देउवाको पक्षमा २६ वटा रिट निवेदन परेका छन् ।

    यस्तै प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेश गरेका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग राखी अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायतले पनि चार रिट निवेदन दर्ता गराएका छन् ।

    नयाँ प्रधानमन्त्रीका लागि कसैको पनि दाबी नपुगेको भन्दै एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति देउवाको दाबी खारेज गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा गत जेठ ७ गते मध्यराति प्रतिनिधिसभा विघटन गर्दै कात्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा गरेकी छन् ।

     

  • १३ असार २०७८, आईतवार ०८:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images