उपत्यकामा जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात खोल्ने तयारी
  • CIA Khabar

  • काठमाडौँ। कोरोना महामारीको दोस्रो लहर आएसँगै काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै सार्वजनिक यातायात पनि सञ्चालन गर्ने तयारी थालिएको छ ।

    काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले सार्वजनिक यातायात सञ्चालनका सन्दर्भमा जिल्लास्थित स्वास्थ्य कार्यालयहरुको राय लिएर निर्णय गर्न सिफारिस गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौँकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले डीसीसीएमसीको बैठकले सार्वजनिक यातायात सञ्चालनको विषयमा स्वास्थ्य कार्यालयको राय लिएर निर्णय गर्न सिफारिस गरेको जानकारी दिइन् ।

    डीसीसीएमसीको बैठक सकिएपछि आइतबार अपराह्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको छ । बैठक जारी रहेपनि निषेधाज्ञाका विषयमा सोमबार बिहान मात्रै निर्णय हुने सहायक प्रजिअ घिमिरेले बताइन् ।

    यो साता खुकुलो भएको निषेधाज्ञाले संक्रमणदरमा पारेको प्रभाव अर्को साताबाट मात्रै थाहा हुने भएकाले एकैपटक ह्वात्तै यातायात खुला गर्ने भन्दा पनि जोरबिजोर प्रणालीबाट लैजान सकिने सुझाव भएको उनले बताइन् ।

    कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको थियो । पछिल्लो पटक निजी सवारीका साधनहरु जोरबिजोर र विभिन्न क्षेत्रका पसलहरु बार अनुसार खोल्न मिल्नेगरी निषेधाज्ञा खुकुलो बनाइएको छ ।

  • १३ असार २०७८, आईतवार १९:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images