काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव नगरेको स्पष्ट पारेका छन् । आफूलाई प्रधानमन्त्रीको अफर आएको भनेर नेपालले झुटको खेती गरेको उनको आरोप छ ।
बालुवाटारमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले माधव नेपाल प्रचण्डको पुच्छार भएको टिप्पणी गर्दै आफूले प्रधानमन्त्रीको प्रस्ताव राखेको भनेर झुटको खेती गरेको बताए ।
प्रधानमन्त्री ओलीले नेता नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको बताए ।
ओलीले भने, ‘माधव नेपाल भोलि शेरबहादुर देउवाको पार्टी पनि ज्वाइन गर्न सक्छन् । प्रचण्डको पार्टी त ज्वाइन गर्नु नै छ । उनको गन्तव्य त्यही हो । माधव नेपाल भनेको प्रचण्डको मामुली कार्यकता हुन् । तर, अहिले धाक लगाएका छन्, केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्यो । मलाई बहुला कुकुरले टोकेको छ र कोही मान्छे नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव राख्न ?
प्रधानमन्त्री ओलीले नेपाललाई ‘लाजशरम पचेको मान्छे’को संज्ञा दिए ।
‘यतिसम्म पनि मान्छे पतन हुँदा रहेछन् । आफ्नो सरकार ढाल्ने, कम्युनिष्ट आन्दोलन सिध्याउने, विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने हिँड्ने, अनि नेकपा एमालेको वरिष्ठ नेता भन्ने । यस्तो लाजशरम पचेको मान्छे ।’ प्रधानमन्त्री ओलीले भने ।