कांग्रेसको क्रियाशील सदस्य करिब ९ लाख पुग्ने अनुमान : के गर्दै छ छानबिन समिति ?
  • CIA Khabar

  • काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले असार मसान्तभित्र सम्पूर्ण काम सक्ने गरी कामलाई तीव्रता दिएको छ ।

    कांग्रेसको १४औँ महाधिवेशनको मिति नजिकिएसँगै क्रियाशील सदस्य छानबिन समितिलाई समयमै काम सम्पन्न गर्ने दबाब बढेको छ । देशैभरका स्थानीय पालिकाको वडा-वडाबाट सिफारिस हुने क्रियाशील सदस्यमा उजुरी परेपछि छानबिन समितिलाई टुंगो लगाउन समस्या परेको थियो । क्रियाशील सदस्यको नवीकरणमा समस्या नभए पनि नयाँ सदस्य र विभिन्न पार्टीहरू एकीकरण भई समायोजनमा आएकाहरूमा विवाद देखिएको छ ।

    क्रियाशील सदस्यको सूची प्रमाणित गरेर वडा, गाउँपालिका नगारपालिका प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्यसमिति हुँदै केन्द्रमा आउनुपर्ने व्यवस्था छ । छानबिन समितिका सदस्य एंव केन्द्रीय सदस्य श्यामप्रसाद घिमिरेले प्राप्त विवरणलाई हेर्दा धेरै ठूलो समस्या नरहेको र तोकिएको समायमा छानबिन गरी विवरण सभापतिलाई बुझाउन सकिने बताए । प्राविधिक कामको चापलाई घटाउने गरी काम भइरहेको पनि उनले बताए । समितिमा प्राप्त भएको विवरणमा परेको उजुरीलाई पनि समयमै छानबिन गरी टुंगो लगाउने समिति सदस्य घिमिरेको भनाइ छ ।

    कांग्रेसको क्रियाशील सदस्य करिब ९ लाख पुग्ने अनुमान गरिएको छ । संगठनमा क्रियाशील सदस्यलाई सक्रिय कार्यकर्ता मानिन्छ । छानबिन समितिलाई प्राप्त भएको नामावली विवरण हेर्दा युवाको ठूलो हिस्सा कांग्रेसमा रहेको समिति सदस्य घिमिरेले बताए । प्राप्त विवरणमा ३० देखि ४० वर्षको उमेर समूहका सबैभन्दा बढी ४० प्रतिशत रहेको पाइएको समिति सदस्य घिमिरेले जानकारी दिए । कांग्रेसमा नेतृत्व विकाश क्रमशः युवा पुस्तामा सर्दै गएको क्रियाशील सदस्यको विवरणले देखाएको घिमिरेले बताए ।

    कांग्रेसको महाधिवेशन आगामी २३ भदौभित्र अनिवार्य रूपमा गरिसक्नुपर्ने छ । यसैमा महाधिवेशन तयारीका कामहरू पनि भइरहेका छन् । कांग्रेसमा क्रियाशील सदस्यहरूले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छानेर पठाउने छन् भने केन्द्रीय समितिका सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । कांग्रेसको १४औँ महाधिवेशन आगामी १६ देखि १९ भदौसम्म काठमाडौंमा हुनेछ ।

  • १९ असार २०७८, शनिबार १६:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images