बुद्द्भुमी नगरपालिकाले ल्यायो १ अर्ब १८ करोड बढिको बजेट
  • CIA Khabar

  • कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आव ०७८/०७९ का लागि १ अर्ब १८ करोड बराबरको बजेट ल्याएको छ । गएको असार ६ गते नै नीति तथा कार्यक्रम ल्याएको बुद्धभूमिले सोमबार बजेट ल्याएर नवौं नगर सभाको अन्त्य गरेको छ ।

    नगरसभा पछि नगरपालिकाले पत्रकार समक्ष बजेटमा उल्लेखित महत्वपूर्ण योजनाबारे जानकारी गराएको थियो ।

    बजेट सार्वजनिकिकरण कार्यक्रममा बोल्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरले चार वटा गौरवका आयोजनालाई समेटेर बजेट निर्माण गरेको जानकारी दिनुभयो । बजेटमा टिक्कर–बुड्ढी–तौलिहवा सडकखण्ड डबललेन, बुड्ढी तालको सुन्दरीकरण, चक्रपथ निर्माण र १५ शैयाको स्वास्थ्य चौकी निर्माणलाई नगर गौरवको योजनाको रुपमा राखिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

    सडकको टेण्डर अबका केही महिनामा लाग्ने बताउँदै बुड्ढी ताललाई सुन्दरीकरण गरी पर्यटकीय क्षेत्र बनाउने काम तत्काल सुरु हुने बताउनुभयो ।

    बुद्धभूमि चक्रपथलाई क्रमागतमा राखिएको भन्दै दुई वटा मोटरेवल पुल बनाइने बताउनुभयो । त्यसका लागि केन्द्र सरकारसंग बुद्धभूमि नगरपालिकाले सह लगानी गर्ने बताउनुभयो । गोरुसिंगे बडहरामा बन्न लागेको १५ शैयाको स्वास्थ्य चौकीको डिपिआर बनिसकेको भन्दै अब टेण्डर प्रक्रिया मार्फत काम थालिने बताउनुभयो ।

    यस्तै बजेटमा अधुरा योजना पूरा र गर्न सकिने कामलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । अहिलेको बजेट आफुहरुको अन्तिम कार्यकालको रहेको भन्दै जनताले अनूभुति गर्ने खालका र समयमै काम सक्ने गरी बजेटमा कार्यक्रम समेटिएको उहाँले बताउनुभयो ।

    नगर प्रमुख श्रेष्ठले नगर सभाबाट आवधिक योजनासंगै पञ्चबर्षीय योजना पारित भएको भन्दै अब बुद्धभूमिले विकास निर्माणमा फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो । योजनाबद्ध विकासले मात्र नगरबासीको मन जित्न सकिने भन्दै आवधिक योजना र पञ्चबर्षीय योजनालाई मार्गदर्शनको रुपमा लिइएको बताउनुभयो ।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले असार ६ गते नीति तथा कार्यक्रम पास गरी आव सर्वसम्मत ढंगले बजेट पारित भएको बताउनुभयो । कोभिड १९ का बीच पनि चालु आवमा नगरले सन्तोषजनक काम गरेको भन्दै आगामी आवको बजेटलाई छिटो छरितो रुपमा कार्यान्वयनमा जोड दिइने बताउनुभयो ।

    नगरपालिकाका प्रवक्ता पवनकुमार चौधरीले पत्रकार समक्षमा बजेटमा उल्लेखित महत्वपूर्ण योजना तथा कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो । नगर प्रवक्ताले दिएको जानकारी अनुसार बुद्धभूमिले आगामी बजेटमा असाध्य रोगका विरामीलाई १० हजार सहयोग देखि वडा नं। ३ मा शहरी क्लिनक सञ्चालन गर्नेसम्म रहेको छ ।

    बजेटमा शिक्षा क्षेत्रलाई बढी प्राथमिकता दिइएको पनि नगर प्रवक्ता चौधरीले जानकारी दिनुभयो । बालविकास केन्द्र र कार्यालय सहयोगीको मासिक तलवमा बृद्धि गरिएको छ भने नगरपालिकाले विद्यालयमा राखेको ९० स्वयमसेवी शिक्षकको तलवभत्ता पनि बढेको छ ।

  • २२ असार २०७८, मंगलवार ०९:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images