झापा । वन्यजन्तुको अवैध शिकार गरेको आरोपमा प्रहरीले कचनकवल गाउँपालिका(३ बाट हरिणको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी ४० वर्षीय लुखिराम हास्दा र २४ वर्षीय समन टुडु छन् ।
पक्राउ परेका उनीहरूसहित आठ जनाले सोमबार अभिमुक्तेश्वर सामुदायिक वनमा हरिण मारेर खाएको प्रहरीले जनाएको छ । हरिणको छाला घरमा सुकाइरहेको खबर पाएपछि पथरिया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर हास्दा र टुडुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए ।
घटनामा संलग्न अन्य व्यक्ति फरार रहेको र उनीहरूको खोजी भइरहेको उनले बताए । पक्राउ परेका दुवै जनालाई डिभिजन वन कार्यालय झापामा बुझाइने प्रहरीले जनाएको छ । झापाको जलथल र निचाझोडा जङ्गलमा हरिण, बँदेललगायत वन्यजन्तुको अवैध शिकार हुने गरेको स्थानीयवासी बताउँछन् । वन्यजन्तुको मासु शहरतिर महँगो मूल्यमा बिक्री हुने भएकाले चोरी शिकारीमा लागेकाहरू सक्रिय हुने गरेका छन् । – रासस