काठमाडौं । सरकारले वीर अस्पतालमा ८३१ कर्मचारीको दरबन्दी थप गरेको छ । ८३१ कर्मचारीको दरबन्दी थपेसँगै बेड संख्या ४६० बाट बढाएर ९६६ पुयाइएको छ । यस्तै वीर अस्पतालका १९ विभागलाई बढाएर २९ वटा बनाइएको छ भने ७ इकाईलाई बढाएर ९ पुर्याइएको छ ।
थपिएका दरबन्दीमा १ प्रमुख विशेषज्ञ, १ प्रशासनतर्फको सहसचिव समेत छन् । २१ असारमा बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारीको दरबन्दी थप्ने निर्णय गरेको हो ।दरबन्दी थपिएका १८६ जनासँगै वीरमा चिकित्सकको संख्या ३६० पुगेको छ । थपिएका चिकित्सकमा ११ औं तह (प्रमुख कन्सल्ट्यान्ट)का १७ जना, नवौं र दशौं तह (कन्सल्ट्यान्ट) ११६ जना, आठौं तह (मेडिकल अधिकृत) ४९ जना र डेन्टल सर्जन चार जना रहेका छन् । यसअघि ११ औं तहका चिकित्सक ३७ जना, दशौं र नवौं तहका चिकित्सक ७३ जना र मेडिकल अधिकृत ६४ जना रहेका थिए ।
यसअघि १८ जना इञ्चार्ज र स्टाफ नर्समा १६५ जनाको दरबन्दी रहेको वीर अस्पतालमा नयाँ दरबन्दी ७०४ जना थपिएसँगै नर्सिङ स्टाफको दरबन्दी ८८७ पुगेको छ । यसैगरी स्वास्थ्य प्राविधिकतर्फ पाँचौं, छैटौं र सातौं गरी ५३ दरबन्दी थपिएको छ ।
त्यसैगरी श्रेणीविहीन कर्मचारीको १५५ दरबन्दी कटौती गरिएको छ । श्रेणीविहीन कर्मचारीको दरबन्दी यसअघि २३३ थियो ।