यूएईमा कार्यरत नेपालीले पठाए ५९ हजार थान पीसीआर किट
  • CIA Khabar

  • दोहा। कोरोना भाइरसबिरुद्धको लडाइँमा सहयोग गर्न संयुक्त अरब ईमिरेट्स(यूएई)मा कार्यरत नेपालीहरुले ५९ हजार थान पीसीआर किट नेपाल पठाएका छन् ।

    नेपालमा दोस्रो लहर कोरोना नियन्त्रणका लागि सहयोग जुटाउन यूएईस्थित नेपाली दूतावास र विभिन्न संघसस्थाहरु मिलेर ‘मातृभूमि सहयोग अभियान’ संयुक्त राहत संकलन समिति संचालन गरी ४७ लाख रुपैयाँ उठाइएको थियो।

    सो रकमबाट ५९ हजार थान पीसीआर किट खरिद गरी नेपाल एयरलाईन्सको उडानमार्फत नेपाल पठाइएको अभियानका प्रवक्ता वेद प्रसाद अर्यालले जानकारी दिए ।

    कोरोना खोप खरिद गरेर पठाउने तयारी गरिएको भएपनि ‘जीटुजी’ प्रणालीबाट मात्र सम्भव हुने भन्दै तत्कालको आवश्यकतालाई मध्यनजर गर्दै पीसीआर किट पठाइएको प्रवक्ता अर्यालले बताए ।

    ‘मातृभूमि सहयोग अभियान’संयुक्त राहत संकलन समितिले गएको सोमबार पीसीआर किट यूएईस्थित नेपाली दूतावासलाई बुझाएको र दूतावासमार्फत नेपाल पठाइएको उनले बताए। उनका अनुसार नेपाल पठाइएका यी पीसीआर किट सातवटै प्रदेशमा वितरण गरिनेछ ।

    यूएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले सामाजिक सञ्जाल फेसबुक मार्फत मातृभूमि दुखेको बेला हार्दिकता र उदारतापूर्वक सहयोग गर्ने नेपाली समुदायप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

    नेपालमा अक्सिजन हाहाकार भएको बेला कतार, साउदी अरब, कुवेत, बहराइन, ओमान र यूएईमा काम गर्ने नेपाली श्रमिकहरुले आफ्नो गास कटाएर ७५ लाख बराबरको ५६० अक्सिजन सिलिण्डर खरिद गरेर सहयोग गरेका थिए ।

  • २४ असार २०७८, बिहीबार १९:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images