काठमाडौँ। नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजी माग गरेका एमालेका पूर्वमाओवादी नेताहरुले आफूहरूको माग छिटो सम्बोधन गर्न आग्रह गरेका छन् ।
शुक्रबार पूर्व माओवादी नेता टोपबहादुर रायमाझी लगायतका नेताहरु निर्वाचन आयोग पुगेर खारेजीको निवेदनमा छिटो निर्णय गर्न माग गरेका हुन् ।
माओवादी पार्टी मनपरी ढंगले चलिरहेको हुनाले छिटोभन्दा छिटो निर्वाचन आयोगले खारेज गर्नुपर्ने उनले बताए । उनले तोकिएको समयमा महाधिवशेन नगरेर माओवादी पार्टी अवैधानिक भएको भन्दै अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारवाही गर्नु असंवैधानिक रहेको जिकिर गरे ।
पार्टी विधानविपरीत अनुशासनहीन र मनपरी ढंगले चलिरहेको हुनाले नियमानुसार अवैध पार्टी खारेज हुनुपर्ने उनको भनाइ छ ।
माओवादीले लामो समयदेखि महाधिवेशन नगरेको भन्दै दल दर्ता खारेजीको लागि पूर्वमाओवादी नेताहरुले बुधवार आयोगमा निवेदन दिएका थिए । निवेदनमा २०७१ देखि माओवादी केन्द्रको महाधिवेशन नभएको दाबी गरिएको छ । दल दर्ता खारेजीको माग गर्दै परेको निवेदन उपर आयोगले थालेको प्रक्रियाका बारेमा जानकारी लिन रायमाझी, मणि थापा, प्रभु साह लगायतका नेताहरु आयोग पुगेका थिए ।