काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेको बताएका छन् ।
शनिबार क्रियाशील सदस्य छानविन समितिले काम गरिरहेको ठाउँमा कामको अवलोकन गर्न पुगेका नेता पौडेलले संवाददाताहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै सभापति शेरबहादुर देउवाको नेतृत्व परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
उनले वर्तमान सभापतिको नेतृत्व परिवर्तन व्यक्ति परिवर्तन मात्र नभएर प्रवृत्तिको परिवर्तन पनि भएकोले आसन्न महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने बताए । पार्टीको आगामी नेतृत्व लिने व्यक्तिको लागि आफ्नो समूहबाट साझा उम्मेदवार बनाउने कोशिस भइरहेको पनि नेता पौडेलले बताए ।
समय र परिस्थिति तथा आवश्यकता हेरेर कोही एक जनालाई उम्मेदवार बनाउन कसरत भइरहेको उनले बताए । अहिले आफूले पनि दाबी गरिरहेको सभापति पदमा अर्को व्यक्तिलाई सर्मथन गर्न आफू तयार रहेको खुलासा उनले गरे । तर आफूले कसैलाई छोड्नु अगाडि चित्तबुझ्दो कारण चाहिने उनको तर्क थियो ।
उनले महाधिवेशनको लागि आवश्यक आधारका रूपमा रहेको क्रियाशील सदस्यताको विवाद असार मसान्तभित्र टुंगिने विश्वास आफूले लिएको बताए । २३ भदौ अगाडि पार्टीको महाधिवेशन नगरे संविधान विपरीत हुने र पार्टीमाथि नै प्रश्न चिह्न खडा हुने भएकाले तोकिएको मितिमा महाधिवेशन गर्नुको विकल्प नभएको नेता पौडेलले बताए ।