रुपन्देही । रुपन्देहीको भैरहवास्थित नारायणपथको एक प्लाइउड र फाइबर गोदाममा गएराति आगलागी भएको छ ।
सिद्धार्थनगर नगरपालिका– ८ नारायणपथमा रहेको सुन्दर ग्लास हाउसमा गएराति करिब सवा ९ बजेदेखि आगलागी सुरु भएको थियो । आज बिहान ५ बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।
विद्युत् सट भएर आगलागी भएको बताइएको छ । आगलागीका कारण अनुमानित २ करोडभन्दा बढीको क्षति भएको छ । यद्यपी क्षतिको पूर्ण विवरण संकलन गर्न बाँकी रहेको थापाले बताए ।
आगलागीबाट गोदाममा रहेका प्लाइउड बोर्ड र फाइबरसहित दुई तल्ले घर ध्वस्त भएको थापाले बताए । उक्त घरका घरधनी सुन्दर अग्रहरीको परिवारलाई भने सकुशल उद्दार गरिएको छ ।
डीएसपी थापाका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा रुपन्देहीसहित नवलपरासी र कपिलवस्तुका १५ वटा दमकलले ८ घण्टामा आगो नियन्त्रणमा लिएका हुन् ।
‘रातभरको प्रयासले आगलागी नियन्त्रणमा लियौँ, थापाले भने, ‘क्षतिको पूर्ण विवरण संकलन गर्न बाँकी छ ।’