काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आज पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै मन्त्री भुसालले मन्त्रालयका सचिव, सहसचिव, विभागीय प्रमुखहरूको बैठकमा मिलेर काम गर्न आग्रह गरेकी छन् ।
उनले परिणाम निकाल्न सबै लाग्नुपर्ने पनि बताएकी छन् । आफू जनताकी छोरी र काम गर्न सरल भएकाले मिलेर काम गर्न पनि उनको आग्रह थियो ।
मन्त्री भुसालले आफ्नो व्यक्तिगत स्वार्थ नभएको उल्लेख गर्दै कुनै आग्रह-पूर्वाग्रह पनि नराख्ने बताइन् । लक्ष्य राख्ने तर परिणाम ननिस्कने प्रवृत्तिको रहेको भन्दै भुसालले त्यसमा सुधार हुनुपर्ने बताइन् । ‘हामीले जहिल्यै लक्ष्य राख्ने तर लक्ष्य पूरा नगर्ने हुँदै आएको छ,’ भुसालले भनिन्, १/२ वटा मात्र लक्ष्य पूरा हुने गरेका छन् । यसमा सुधार हुनुपर्छ ।’
कृषिप्रधान देश भनिए पनि सिंचाईको ठूलो समस्या रहेको उल्लेख गर्दै भुसालले त्यसको समाधान हुनुपर्ने बताइन् । बाढी र पहिरोले क्षती पुर्याएको भन्दै त्यसको रोकथामका लागि सम्बन्धित निकायसँग समन्वय गर्नुपर्ने उनको भनाइ छ ।