पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले विपन्न तथा वैदेशिक रोजगारबाट फर्किएका र फरक क्षमता भएका सय बढी किसानलाई पुर्ण अनुदानमा कृषि उत्पादनका विविध सामग्री वितरण गरेको छ।
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत विपन्न तथा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरु र फरक क्षमता भएका व्यक्ति तथा उनीहरुको परिवारको लागि व्यवसायिक कृषिबाट उत्पादन लिइ घरको आर्थिक स्थिति सुधार होस् भनेर तरकारी खेतीमा प्रयोग हुने सामाग्री सहयोग गरेको हो ।
वडाबाट आएका सिफारिसका आधारमा नगरपालिकाका ८० किसानलाई प्लाष्टिक टनेल सिट तथा स्प्रेयर सेट र अपाङ्गता तथा फरक क्षमता भएका २७ व्यक्तिहरुका लागि च्याउ टनेल सिट वितरण गरेको हो। प्रत्येक वडाका ८/८ किसानलाई प्लाष्टिक टनेल सिट तथा सुरक्षा मापदण्ड अनुसार मास्क, पञ्जा, चस्मा, एप्रोन लगायतको पिपिई सेट सहितको स्प्रेयर सेट बितरण गरेको हो । फरक क्षमता भएकाहरुको यस अघि परेको निबेदनको आधारमा वडा नं. ८ का २५ र वडा नं. १० का २ जना गरी२७ जना कृषकहरुलाई १/१ थान च्याउ टनेल सिट वितरण गरेको हो । अपाङ्गताहरुको मागको आधारमा यस अघि मैनबत्ती बनाउने तालिम चलिसकेको छ ।
किसानलाई कृषि सामाग्री हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले बिबिध कारण वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा फरक क्षमता भएकाहरुले आफ्नै भुमिमा बल र क्षमता अनुसारको काम गर्न सक्ने भएकाले किसानलाई सहयोग दिएको बताउनुभयो। कोरोनाले रित्तै फर्कायो, कतिको ऋण नै लाएर फर्किनुपर्ने अबस्था आयो थापाले भन्नुभयो- आफ्नै माटोमा जहान परिवार संगै बसेर काम गर्छु भन्नेको लागि नगरपालिकाले सहयोग गरिरहनेछ । युवा स्वरोजगारलाई बढाउन नगरपालिकाले बैंक संग समन्वय गरेर ब्याज तिरिदिने गरि ऋण निकालेर काम गर्न हौसाएको हुँदा झण्झट नमानी काम गरेर आर्थिक रुपमा सबल हुन उहाँले आग्रह गर्नुभयो ।
रामपुर नगरपालिकाका उपप्रमुख बिष्णु देवी घिमिरे आचार्यले बाहिरका तरकारीमा भर पर्नुपर्ने अबस्थाको पनि अन्त्य गर्न किसानलाई कृषि खेतीमा सहयोग गरेको बताउदै किसानले अब तरकारी बढी भयो भनेर बजारीकरणका लागि पहल गर्ने गरि उत्पादन गर्न किसानलाई आग्रह गर्नुभयो । बिदेशिन बाध्य नेपालीले बिदेशमा बगाउने पसिना र रगतको मेहनत नेपालमै गरे बिदेशको भन्दा कम फाइदा नहुने बताउनुभयो । अहिले बिहान र साझ खुल्ला स्थानमा हिड्ने परम्परा छ करेसाबारी वा छतमा नै तरकारी फलाउन गोडमेलमा त्यो समय खर्च गनुस् उहाँले भन्नुभयो- स्वस्थ्य शरीर र ताजा खानेकुरा पाइनेछ ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले किसानलाई दिइएको सामान र सीपको प्रयोग गर्दै आयआर्जनमा वृद्धि गरेर आफू र आफ्नो परिवारको राम्रो शिक्षा, स्वास्थ्य र रोजगारीमा प्रगति गर्न मद्धत पुग्ने बताउनुभयो । वडामा खटिएका र नगरमा रहेका कृषि प्राबिधिकले नियमित ज्ञान सीप दिने भन्दै उहाँले राम्रो उत्पादन र आर्थिक रुपमा सफल भएको खण्डमा राज्यले लिएको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न सहयोग मिल्ने भएकाले उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।
रामपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष दिनेश कुमार खनालले एउटै टनेलबाट पनि राम्रो उत्पादन लिन सकिने भएकाले कृषकहरुलाई सामग्रीको सही सदुपयोग गर्न अनुरोध गर्नुभयो।
कृषि शाखा प्रमुख रामहरी पाण्डेले
व्यबसायिक कृषि खेतीलाई जोड दिदै सामाग्री बितरण गरिएको र यसको सही प्रयोगका लागि अनुरोध गर्नुभयो । उहाँले टनेल निर्माण, च्याउ खेती, कृषि बालीमा आउने समस्या तथा किटनाशक तथा भिटामिनको सही मात्रामा प्रयोग जस्ता प्राविधिक बिषयमा किसानलाई सीप र ज्ञान दिनुभयो। कार्यक्रम नगरप्रमुख रमण बहादुर थापाको अध्यक्षता, कृषि शाखा प्रमुख रामहरी पाण्डेको स्वागत र कृषि प्राविधिक प्रज्वल के.सी.को सञ्चालनमा कार्यक्रम भएको हो।