काठमाडौं । गैरआवासीय नेपाली संघ, स्पेनको अध्यक्ष पदमा बार्सिलोनाका शालिकराम डुम्रेले उम्मेदवारी दिएका छन् । आसन्न निर्वाचन अन्तर्गत निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार डुम्रेले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
स्याङ्जा स्थायी घर भई दुई दशकदेखि स्पेनको मुख्य शहर बार्सिलोनामा व्यवसाय सन्चालन गर्दै आइरहेका डुम्रेले सन् २०१३ देखि एनआरएनए स्पेनका विभिन्न पदमा रहेर काम गर्दै आइरहेका छन् । एनआरएन स्पेनको नयाँ कार्य समिति (२०२१/२०२३) चयनका लागि जुलाई २६ मा मतदान हुँदै छ । अनलाइनमाध्यमबाट मतदान गराइने निर्वाचन समितिले जनाएको छ । अध्यक्ष पदमा उम्मेदवारी दिएका डुम्रे नेपाली जनसम्पर्क समिति स्पेनका पूर्व अध्यक्ष हुन् ।
उनी स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय समितिका संस्थापक समेत हुन् । विभिन्न सामाजिक संस्थाहरुमार्फत समाजसेवामा सक्रिय डुम्रे स्पेनमा लोकप्रिय मानिन्छन् । स्पष्ट बोल्ने र बोलेका कुरा गरेरै छाड्ने उनको स्वभाव रहेको छ । अहिलेसम्म स्पेनमा बसेर गरेको समाजसेवाका आधारमा स्पेनवासी गैरआवासीय नेपालीहरुले मतदान गर्नुहुने छ भन्ने विश्वास लिएको छु, डुम्रेले भने, एनआरएनलाई साँच्चिकै साझा संस्था बनाउने योजना अनुरुप म चुनावमा उत्रिएको हुँ । सहमतिमा नेतृत्व चयन गर्ने प्रयास सफल गरिएपनि सफल नभएपछि उम्मेदवारी दिँदै निर्वाचनको तयारीमा जुटेको उनले जानकारी दिए ।
स्पेनमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुले आफूँलाई समर्थन गरेको पनि उनले जनाए । ‘विगतमा सामाजिक संघसंस्थाको नेतृत्वदेखि कार्यसमितिमा लिएका अनुभव तथा ज्ञानलाई उचित प्रयोग गरेर सबल र सक्षम नेतृत्व दिई संस्थालाई सही दिशानिर्देश गर्न सक्छु भन्ने दृढ अठोटका साथ यसपाली एनआरएनए स्पेनको अध्यक्ष पदमा उमेदवारी दिएको छु’ उनले भनेका छन् । अध्यक्ष पदमा उम्मेदवारी दिएपछि एक अपिल सार्वजनिक गर्दै डुम्रेले संस्थालाई साँच्चिकै साझा बनाउन र संस्थाको उद्देश्य अनुरुप काम गर्न आफूँले उम्मेदवारी दिएको बताएका छन् ।
‘एनआरएनए सबै बिचारसमूह क्षेत्र जात धर्म लगयतका सबै अट्ने संस्था भएता पनि कहिँकतै त्यसको नेतृत्व र बागडोर समाल्ने सीमित व्यक्तिको सस्तो लोकप्रियताका नाममा बोलेका र गर्छु भनी बाचा गरेका कुराहरु नेपालका राजनीतिक नेतृत्वहरुकै शैलीमा पूरा नगर्दा स्पेनको हकमा कैयौ युवा पिंढीहरुमा एनआरएनए जस्तो साझा सस्थाले पनि सबैको अपनत्व बहन गर्न नसकेको अनुभूति हुने गरेको छ’ उनले भनेका छन् ।
युवा पुस्ताहरुको सहभागिताले मात्रै संस्थाको दिगो विकास हुने भन्दै आफूँ निर्वाचित भएमा आगामी कार्यकालमा एनआरएनमा युवाहरुको सहभागिता र सक्रियता वृद्धि गर्ने पनि उनले बताएका छन् ।