उज्वलबहादुर थापाको उपचारमा बचेको रकम ७ संस्थालाई प्रदान
  • CIA Khabar

  • काठमाडौं । विवेकशील साझा पार्टीका दिवंगत नेता उज्वलबहादुर थापाको उपचारका क्रममा संकलन भएको रकम सात वटा सामाजिक संस्थालाई दिइएको छ ।

    कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका थापाको उपचारका लागि विश्वभरका करिव २,८०० व्यक्तिबाट ६७ लाख ८३ हजार ४८५ रुपैयाँ ३४ पैसा रकम संकलन भएको थियो । थापाको परिवारका अनुसार उपचारमा २४ लाख २० हजार ३४९ रुपैयाँ खर्च भएको छ भने बैंक तथा रकम स्थानान्तरणमा १ लाख १० हजार ९३४ रुपैयाँ १६ पैसा खर्च भएको छ ।

     

    उनको उपचारका क्रममा १८ जेठमा मृत्यु भएको थियो । उपचारका लागि जुटेको सहयोगमध्ये ४२ लाख ५२ हजार २०१ रुपैयाँ ७२ पैसा खर्च नभएको उज्जवलको परिवारले जनाएको छ । यो रकम दाताहरूलाई फिर्ता गर्न व्यवस्थापनको दृष्टिकोणले असम्भव देखिएको भदै परिवार, साथी र शुभेच्छुकहरूले कोभिडको महामारीमा चिकित्सकीय तथा जीविकोपार्जन समस्या भोगिरहेकाहरूलाई सहयोग गर्ने निर्णय गर्‍यो ।

    त्यसका लागि ४१ वटा संस्थाको सूचना बनाएको भएपनि काम हेरेर सात वटालाई दिइएको थापाको परिवारले जनाएको छ ।

    थापाको परिवारका अनुसार संस्थाहरूको काम हेरी छोटो सूची बनाइयो । छोटो सूचीमा भएकाहरूको कामलाई हेर्दा र उनीहरूसँग अन्तर्वार्तासमेत गर्दा सातओटा संस्थाहरू उपयुक्त हुने देखिएकाले ती सातओटा संस्थाहरूलाई चयन गरियो ।

    त्यस अनुसार राष्ट्रिय आविष्कार केन्द्र, काठमाडौँलाई १५ लाख, ओडा फाउन्डेसन, कालीकोटलाई १० लाख, सानो पाइला, वीरगञ्जलाई ६ लाख, नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन, काठमाडौंलाई ५ लाख रुपैयाँ दिइएको छ ।

    यस्तै भोरे नेपाल, सर्लाहीलाई २ लाख ५० हजार, मधेश ह्युमन राइट्स होम, कपिलवस्तुलाई २ लाख दुई हजार २०१ रुपैयाँ ७२ पैसा र हार्टबिट, काठमाडौंलाई २ लाख दिइएको छ । रकम हस्तान्तरण गर्दै थापाकी श्रीमती एरिका अधिकारीले सहयोग रकमले समस्यामा रहेका व्यक्तिहरूलाई मद्दत पुग्ने आशा व्यक्त गरिन् ।

  • २ श्रावण २०७८, शनिबार १९:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images