काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेर २२ जना सांसदलाई स्पष्टीकरण सोधेका हुन् । तर स्पष्टीकरण पत्रमा संसदमा विश्वासको मत दिएको बारेमा भने कुनै प्रश्न गरिएको छैन ।
२४ घण्टाभित्र जवाफ नदिए कारबाहीको चेतावनीसहित पठाइएको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘केन्द्रीय जनप्रतिनिधि संस्था लगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशनविपरीत विभिन्न कार्यहरु निरन्तर गराइरहेको र पार्टीको विधान तथा नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरुले पालना गर्नुपर्ने उल्लेखित कर्तव्यको उल्लंघन गरेरगराएको‘।हुँदा तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निस्काशन नगर्ने ? २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ पेश गर्नुहोला ।’
अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जवाफ २४ घण्टाभित्र नदिए वा चित्तबुझ्दो नभए साधारण सदस्यबाटै निस्काशन गर्ने उल्लेख गरिएको छ । तर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने सर्वोच्च अदालतको आदेशअनुसार विश्वासको मत दिएकै आधारमा स्पष्टीकरण सोध्ने काम गलत रहेको बताएको छ ।
नेता रघुजी पन्तले नेता नेपाल पक्षको स्थायी कमिटी बैठकपछि भने, ‘स्पष्टीकरण सोध्नु पर्ने विषय हैन । एकता प्रक्रियामा भाँजो हाल्ने काम गरिनु हुँदैन । एकतामा असर पुग्ने काम कतैबाट पनि हुनुहुन्न भन्ने हाम्रो मान्यता हो ।’
एमालेले भने प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गरेका २२ सांसदहरुलाई कारबाहीको तयारी अनुसार स्पष्टीकरण सोधेको हो ।