काठमाडौँ । जसपा उपेन्द्र यादव पक्षले आफूसँग बहुमत कार्यकारिणी सदस्य रहेकाले सोमबार निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ ।
पार्टी कार्यालय बालकुमारीमा शनिबार बसेको यादव पक्षको कार्यकारिणी बैठकले सबै सदस्यहरूलाई परिचय खुल्ने सक्कल कागजातसहित आयोगमा उपस्थित हुन निर्देशन पनि दिएको छ ।
शनिबारको बैठकमा ५१ मध्ये ३३ जना सदस्य सहभागी भएको र आफूहरुसँग बहुमत रहेको बैठकपछि नेता महेन्द्र राय यादवले जानकारी दिए । त्यस्तै जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले सर्वोच्चमा दिएको रिट निवेदनका विषयमा पनि बैठकमा छलफल भएको थियो ।
बैठकमा संसदीय दलबाट पारित संसदीय दलको विधान प्रस्तुत भएको उनले बताए । विधान अध्ययनका लागि कार्यकारिणी सदस्यहरुलाई उपलव्ध गराइएको यादवले जानकारी दिए । कार्यकारिणी बैठकबाट विधान पारित भएपछि संसदीय दलको नेता चयनको प्रक्रिया शुरू हुने यादवले बताए ।
यसअघि निर्वाचन आयोगले जसपाको आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाउने निर्णय गरेको थियो तर आयोगको प्रक्रिया रोक्न जसपाका महन्थ पक्षले सर्वोच्चमा रिट दायर गरेको छ ।