पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा एमबिएस पढाइ हुने भएको छ ।
शैक्षिक सत्र ०७८/०७९ देखि रामपुर नगरपालिका ७ किसानबारीमा रहेको सहिद बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह एमबिएस पठनपाठन हुने भएको हो । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्को असार २८ गतेको निर्णय नम्बर ९२३ को निर्णय अनुसार क्याम्पसले सम्बन्धन पाएपछि एमबीएसको पढाईका लागि बाटो खुलेको क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
व्यवस्थापन संकायका लागि सो परिषद्को बैठकले देशका विभिन्न २३ वटा सामुदायिक क्याम्पसलाई स्वीकृत प्रदान गरेको हो । स्वीकृत भए संगै अब भर्ना अभियानको प्रक्रिया अगाडी बढेको छ । एमएड तहमा नेपाली र शिक्षा योजना तथा व्यवस्थापन (एपिएम) विषय सञ्चालन भइरहेकामा अब एमबिएस तहसम्मको पठनपाठन हुनुले यस क्षेत्रमा शिक्षामा फड्को मारेको शिक्षासेवीहरुको भनाई छ ।
पुर्वी पाल्पाको पहिलो बहुमुखी क्याम्पस नगरमै एमबिएस पढाइ हुने भएपछि स्नातक तह उत्र्तीण गरेर बसेका बिद्यार्थीले खुसी व्यक्त गरेका छन् । अब एमबीएस पढ्नकै लागि बाहिर जानुपर्ने बाध्यता पनि हटेको छ । प्रायः बुहारीहरु घरमा रहेर पढ्ने गाउले क्याम्पस भएकाले यस क्याम्पसलाई “बुहारी क्याम्पस” समेत भनिन्छ । रामपुर क्षेत्र पाल्पा, स्याङ्जा, तहनु र नवलपरासी पुर्व जिल्लाको संगम स्थल समेत हो । यहाँ एम बि एस कक्षा सञ्चालन हुने भएपछि पाल्पाको पूर्वी भेगसहित छिमेकी जिल्लाका विद्यार्थीलाई समेत उच्च शिक्षामा सजिलो हुने भएको छ ।
स्नातक तहसम्म व्यवस्थापन अध्ययन पूरा गरेका विद्यार्थी एमबिएस तहको शिक्षाको लागि अहिले बुटवल, पोखरा, काठमाडौँ जाने गर्दथे । घरको आर्थिक अवस्था कमजोर हुने र बाहिर पढ्न जान संभव नहुनेहरु गाउँमा बिषय पढाइ नभएपछि बीचमै पढाइ छाडेर काममा लाग्नुपर्ने बाध्यता थियो । विशेषगरी जागिरमा आबद्ध, घरायसी कामले बाहिर जान नपाउने तथा बाहिर बजारमा गएर पढ्नसक्ने आर्थिक अवस्था नभएका विद्यार्थीलाई गाउँकै क्याम्पसमा एमबिएस तहको शिक्षा पढाई हुने भएपछि निकै खुशी छन् ।
वि.सं.२०४८ मा स्थापना भई त्रिविबाट सम्बन्धन प्राप्त गरी मानविकी सङ्कायको प्रवीणता प्रमाणपत्र तहको पठनपाठनबाट शुरु भएको यस क्याम्पसमा कक्षा ११/१२ देखि स्नातकसम्म शिक्षा, व्यवस्थापन र मानविकी सङ्कायमा पठनपाठन हुँदै आएको छ । विसं २०५४ मा स्नातक तहमा अङ्ग्रेजी, अर्थशास्त्र, राजनीतिशास्त्र र नेपाली विषयको पढाई शुरु भयो । २०५५ सालमा तत्कालीन उच्च माध्यमिक तहको पठनपाठन शुरु भयो । वि.सं. २०६० मा शिक्षा सङ्कायमा स्नातक तह, २०६६ मा व्यवस्थापनमा र पुनः शिक्षा संकाय तर्फ २०६७ मा स्नातकोत्तर तहको पढाइ शुरु भएको हो ।
हाल राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा ११ र १२ मा व्यवस्थापन, मानविकी, शिक्षा विषय समूह, त्रिभुवन विश्वविद्यालयतर्फ स्नातक तहमा व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र सङ्काय, स्नातकोत्तर तहमा शिक्षाशास्त्र सङ्कायतर्फको नेपाली शिक्षा र शिक्षा योजना तथा व्यवस्थापन विषय सञ्चालन भइरहेको छ ।
झण्डै ५० रोपनी सार्वजनिक जग्गामा फैलिएको क्याम्पसमा समय सापेक्ष शिक्षाको माग, आबश्यकता अनुसार थप संकाय र सेवामा तल्लिन रहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवराज ढकालले बताउनुभयो। निरन्तरको प्रयासले विविध योजना परेको छ ढकालले भन्नुभयो-शहर उन्मुख रामपुरमा क्याम्पसमा थप कक्षाले यस भेगका विद्यार्थी र अभिभावकमा निकै राहत पुगेको छ । विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षा सुधार परियोजनाअन्तर्गत ६० लाख बाट ४ कोठे भवन र सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशबाट ४० लाख सहयोगमा २ तले चारकोठे भवन निर्माण भएको छ ।
यस क्याम्पसमा हाल कक्षा ११ देखि स्नातकोत्तर तहसम्म करिब ९०० विद्यार्थी अध्ययनरत छन् ।