मेलम्चीमा फेरि बाढी, रेडियो मेलम्चीको भवन ढल्यो
  • CIA Khabar

  • सिन्धुपाल्चोक । मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ ।

    रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गएराति १२:४० बजेतिर बाढीले भवन बगाएको जानकारी दिए ।

    यसअघि गत असार १ गते आएको भीषण बाढीले हेलम्बु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन ।

    बाढी घटेपछि रेडियोका सामान सुरक्षित स्थानमा सारेर वैकल्पिक माध्यमबाट रेडियो सञ्चालन गरिएको थियो ।

    फेरि शनिबार राति आएको बाढीले रेडियोको भवन पनि भत्काएपछि ठूलो क्षति भएको अध्यक्ष भारतीले बताए । राति आएको बाढीले पुर्‍याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ । मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

    यसअघि हेलम्बु गाउँपालिका नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गरेका थिए । खोलाबाट असार १ जत्तिकै आवाजमा आएको उनले बताए ।

  • १७ श्रावण २०७८, आईतवार ०८:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images