काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ईजाजतबिना उपचारमा संलग्न भएको अभियोगमा एकजना भारतीय नागरिकसहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत घर भइ हाल काठमाडौं चाबहिल बस्दै आएका ३१ वर्षीय सौरभ कुमार, पिपरा गाउँपालिका-३ महोत्तरी घर भइ काठमाडौं चाबहिल बस्दै आएका ४० वर्षीय डा. रावेत रञ्जन कुमार ठाकुर र बैतेश्वर गाउपालिका-६ स्थायी घर भइ काठमाडौंको चाबहिल बस्दै आएका ४६ वर्षीय राधाकृष्ण तामाङ रहेका छन् ।
उनीहरुलाई काठमाडौंको चाबहिलस्थित हेल्दी स्माइल ओमकार डेण्टल होमबाट शनिबार पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
उनीहरुले नेपाल मेडिकल काउन्सिलको अनुमतिबिनै चिकित्सकको रुपमा काम गरी बिरामीहरुको चेकजाँच गर्ने, चिरफार तथा सर्जरी समेतका उपचार कार्यमा संलग्न रहेको प्रहरी उपरीक्षक (एसपी) एवं ब्यूरोका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए ।
पक्राउ परेका उनीहरुमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १९ अन्तर्गतको ईलाज सम्बन्धी कसूर तथा अन्य प्रचलित कानून बमोजिम कारवाही गर्न आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।