काठमाडौँ । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान नेपाल प्रहरीले लिने आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशङ्कामा छानविन शुरु भएको छ ।
प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र बाहिरिएको आशङ्कामा प्रहरी प्रधान कार्यालयको युएन शाखाले छानबिन शुरु गरेको हो ।
यही साउन १६ गते प्रहरी प्रधान कार्यालय र ७ वटा प्रदेश प्रहरी कार्यालयमा प्रि–स्याटको परीक्षा सञ्चालन भएको थियो । परीक्षामा जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी थिए ।
परीक्षा शुरु हुनु अगावै प्रश्नपत्र बाहिरिएको हल्ला चलेपछि अर्को प्रश्नपत्र तयार गरेर डेढ घण्टा ढिलो जाँच लिइएको थियो । युएनको अनपोल मिसनमा जान प्रि–स्याटमा पास भएका कर्मचारीले पुनः स्याटको परीक्षा उत्तीर्ण हुनुपर्छ ।