काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले हिँडिरहेको मार्गबाट मुलुक शान्ति स्थायित्व र समृद्धि तर्फ नजाने बताएका छन् ।
पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको भर्चुअल बैठकमा अध्यक्ष थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता विदेशीले बोकाईदिएको भारी भएको बताउँदै बैकल्पिक मार्ग आवश्यक भएको बताएका हुन् ।
नेपालको राष्ट्रिय राजनीतिमा राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गराउने भन्दै थापाले गणतन्त्र ,धर्म निरपेक्षता र संघीयताको विकल्पमा राजासहितको प्रजातन्त्र , सनातन हिन्दु राष्ट्र र स्थानिय स्वायत्त शासनमा आधारित विकेन्द्रीत शासन प्रणाली मुलुकको निम्ति आवश्यक भएको बताए ।
स्पष्ट विचार र अलग पहिचान स्थापित गर्न लागिपरेका सिद्धान्तनिष्ठ नेता/कार्यकर्ता पार्टीको पुँजि भएको भन्दै उनले इमान्दारीतापूर्वक निर्वाचनमा केन्द्रित हुन कार्यकर्ताहरुलाई आग्रह गरे ।
विदेशी हस्तक्षेप र प्रभावलाई रोक्न स्वाधीनताको रक्षाको निमित्त राप्रपा बलियो हुन अपरिहार्य भएको थापाको तर्क थियो ।
आजको भर्चुअल बैठकमा गण्डकी सहित प्रदेश ५, ६ र ७ प्रदेशका जिल्ला अध्यक्षहरुको सहभागिता रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।