काठमाडौँ । घरयासी विवादमा श्रीमतीको हत्या गरेको आरोपमा काठमाडौँको चमतीबाट एक जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१६ चमती बस्दै आएकी २८ वर्षीया बबिता राईको हत्या गरेको आरोपमा उनका ३३ वर्षीय श्रीमान रामेश्वर गोतामेलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार आज (बुधबार) बिहान करिब १ बजेतिर हत्या भएको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो।
एसपी बस्नेतले भने, ‘हत्याको सूचना लगत्तै प्रहरी घटनास्थल पुगेर अनुसन्धान गर्दा घाँटी थिचेर हत्या गरेको देखिएको छ। शरीरमा कुनै हतियार प्रयोग गरिएको देखिएन ।’
एसपी बस्नेतका अनुसार पक्राउ परेका उनको श्रीमानले घरयासी विवादका कारण हत्या गरेको स्वीकारेका छन् । उनीहरूबीच करिब ५ वर्षअघि विवाह भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अहिले घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।