म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ ।
जिल्लाको अन्नपूर्ण गाउँपालिका-३ काभ्रेमा खसेको पहिरो र स्थानीयवासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा सिधा यातायात बन्द भएको थियो ।
मुस्ताङका जनप्रतिनिधि, दुवै जिल्लाका प्रशासन, सुरक्षा निकाय र बेनी-जोमसोम-कोरला सडक आयोजनाको पहलमा स्थानीयवासीसँग सहमति गरेर सडक मर्मत गरी शनिबार साँझदेखि यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ।
सडक विस्तारका क्रममा पहिराले क्षति पुर्याएको जग्गा जमिनको क्षतिपूर्ति र जोखिममा परेका बस्ती संरक्षण माग गर्दै काभ्रेका बासिन्दाले सडक मर्मत र निर्माणमा अवरोध गरेका थिए ।
म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले आयोजनाले सडक विस्तारका क्रममा क्षति पुगेको जग्गाको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउने र जोखिममा परेका बस्ती संरक्षण गर्ने प्रतिबद्धता जनाएपछि सहमति जुटेको बताए ।