यदि शरीरले राम्रोसँग काम गरिरहेको छ भने, हामी त्यसलाई स्वास्थ्य भन्छौँ । अन्यथा, हामी त्यसलाई रोग भन्छौँ । जब तपाईं आनन्दित रहनुहुन्छ, तपाईंको भौतिक शरीर सबैभन्दा उत्तम तरिकाले काम गर्दछ । त्यसबेला, यो स्वतः ठीक अवस्थामा रहनेछ । वास्तवमा भन्नुपर्दा, हाँसोले तपाईंलाई ठीक गर्ने होइन; बरु खुसी एवं हर्षको भावले ठीक गर्ने हो । तर, अधिकांश मानिसहरूले आनन्दित हुनुलाई हाँस्नुसँग जोडेर हेर्ने गर्छन् ।
आनन्दको एउटा अभिव्यक्ति
हाँसो बन्धन समेत बन्न सक्छ । यदि तपाईंले आनन्दित हुनु भनेको सधैँ “हिहि…हाहा” गर्नु हो भनेर ठान्नुभएको छ भने, तपाईं स्वयं हास्यास्पद पात्र बन्ने निश्चित छ । किनकि, तपाईं कुनै पनि परिस्थितिको गहिराइलाई नबुझिकनै जस्तोसुकै परिस्थितिमा पनि “हिहि…हाहा” गर्नुहुनेछ । खुसी हुनु वा आनन्दित हुनु भनेको हाँस्नैपर्छ भन्ने होइन ।
आनन्द, विभिन्न रूपहरूमा व्यक्त हुन सक्छ— यो एक निश्चित रूपमा मात्रै व्यक्त हुनुपर्छ भन्ने छैन । हाँसो एउटा अभिव्यक्ति हुन सक्छ, जबकि अर्को अभिव्यक्ति मौन हुन सक्छ । आनन्दले तपाईंमा स्थिरता ल्याउन सक्छ, तपाईंलाई कुनै काममा क्रियाशील बनाउन सक्छ, वा तपाईंका आँखाबाट आँशुका धारा बगाउन सक्छ ।
भलै, गौतम बुद्ध आनन्दको स्वरूप भए तापनि, अरू कसैले पनि कहिल्यै उनलाई हाँसेको अवस्थामा देखेनन् । उनले कहिल्यै जोडले हाँसेनन्, यहाँ सम्म कि स्पष्ट रूपमा समेत मुस्कुराएनन्; उनको मुस्कान पनि अप्रत्यक्ष र सामान्य हुने गर्थ्यो । आनन्द भनेको मुस्कान वा हाँसो होइन । आनन्दित हुनु भनेको तपाईं जीवनको अन्तस्करणको सम्पर्कमा हुनुहुन्छ भन्ने हो । तर, जब तपाईं यसलाई कुनै निश्चित अभिव्यक्तिको दास बनाउनुहुन्छ, तपाईं हरेक क्षण आनन्दित रहन सक्नुहुन्न ।
आनन्द के हो ?
मूलतः आनन्द भनेको आफ्नो जीवनलाई सतहमा बाँच्नुको सट्टा तपाईं जीवनलाई गहिराइमा अनुभव गरिरहनु भएको छ भन्ने हो । तपाईं जीवनको स्रोतसम्म पुग्नुभएको हुन्छ, त्यसैले तपाईं स्वयं आनन्द बन्नुहुन्छ । मानिसहरू सदैव यसलाई अर्को तरिकाले पाउने कोसिस गरिरहेका हुन्छन् ।
कोही मदिरा पिउनुमा आनन्द छ भन्ने विश्वास गर्छन्, जबकि कोही हाँस्नुमा आनन्द छ भन्ने ठान्छन् । हाँसिरहने मानिसहरूको जमातको बारेमा त तपाईंहरूलाई थाहै होला । उनीहरू गल्लीमा, बाटोमा, चोकमा जतासुकै “हाहाहा…हूहूहू…हिहिहि” गरिरहेका हुन्छन् ! शुरु–शुरुमा यो रमाइलो लाग्नेछ, तर यदि तपाईंले जतिबेला पनि “हाहाहा…हिहिहि” गरिरहने व्यक्तिसँग रहनुपर्ने हो भने, तपाईं त्यो हाँसो बन्द गर्नकै लागि भएपनि उसलाई मार्न चाहनुहुनेछ !
हाँसो परिणाम हो
अचेल “हास्य योग” नाम दिएर एकदमै दयनीय प्रकारको योग प्रचार गरिँदै छ । दुवैजना व्यक्ति एक–अर्कासामु उभिन्छन् अनि एउटाले “हिहिहि…” भन्दछ, अर्कोले “हाहाहा…” भन्दछ र हाँसो शुरु हुन्छ । यो पागलपन हो । हालसालै, मैले कतै पढेको थिएँ कि जीवनमा केही अपनाउने सल्लाह दिने एक अमेरिकन शिक्षकले व्यक्तिले दिनमा दश मिनेटसम्म हाँस्नैपर्छ भनेर सल्लाह दिएका थिए— यदि त्यसो गर्नुभयो भने, तपाईं छिट्टै मानसिक रोगीहरूको विभागमा पुग्नुहुनेछ !
कृपया यो कुरा बुझ्नुहोस्: यदि तपाईं बगैँचामा फूलहरू फुलाउन चाहनुहुन्छ भने, तपाईं बजारबाट प्लाष्टिकको फूल ल्याएर त्यहाँ रोप्नुहुन्न, होइन र ? तपाईंले केही यस्ता कामहरू गर्नुपर्ने हुन्छ, जुन फूलहरू जस्तो देखिँदैनन्— तपाईंले माटो, मलखाद, पानी साथै घामको किरणको उचित ख्याल राख्नुपर्ने हुन्छ । यी चीजहरू न त फूल जस्तो देखिन्छन्, न त्यस्तो प्रतीत हुन्छन्, न त फूलले सुगन्ध नै छर्दछन् ।
तर, यदि तपाईंले यी चीजहरूको पर्याप्त ख्याल राख्नुभयो भने, फूलहरू फुल्ने छन् । तसर्थ, तपाईंले “म हरेक दिन हाँस्नैपर्छ” भन्ने प्रतिज्ञा गरेकै भरमा हाँसो आउने होइन । यदि तपाईं आफूभित्र प्रिय अनुभव गरिरहनु भएको छ भने, कुनै कारणबिनै, तपाईंको अनुहारमा मुस्कान छाउनेछ । थोरै केही हुने हो भने, तपाईं हाँस्नुहुनेछ । वास्तवमा, हाँसो परिणाम हो । त्यसैले, परिणाम सृजना गर्ने प्रयत्न नगर्नुहोस् । बरु, तपाईं प्रक्रिया वा स्रोतमाथि काम गर्नुहोस् ।
आनन्द, तपाईंले केही गरेर हुने होइन । यदि तपाईंले आफूभित्रको जीवनको आधारभूत प्रकियालाई बिथोल्नु भएन भने, स्वतः आनन्द अनुभव गर्नुहुनेछ । आनन्द कुनै उपलब्धि होइन— आनन्द तपाईंको मौलिक अवस्था हो । योगमा, हामी मनुष्यलाई पाँचवटा पत्रहरू वा आवरणहरूमा हेर्ने गर्छौँ— अन्नमय कोष, मनोमय कोष, प्राणमय कोष, विज्ञानमय कोष र आनन्दमय कोष । त्यसैले, तपाईंको अन्तस्करणको प्रकृति भनेकै आनन्द हो । यदि शरीरको पहिलो तीनवटा आयामहरू— भौतिक, मानसिक र ऊर्जा शरीर— सही सङ्गति वा लयमा हुने हो भने, अन्तस्करणको प्रकृति स्वतः प्रकट हुनेछ, जुन वास्तवमा सम्पूर्ण रूपमा आनन्द हो । -सदगुरुको प्रवचनमा आधारित