वुटवल । लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलमा आइतबार बिहानै मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा आएसँगै शुरू भएको राजनीतिक सरगर्मी उत्कर्षमा पुगेको छ ।
छिनछिनमा भइरहेको राजनीतिक परिवर्तनको जोड घटाउले मुख्यमन्त्री पोखरेलको नयाँ सत्ता पनि संकटमा परेको छ ।
नेकपा एमालेको एकल बहुमत दाबी गरेर मुख्यमन्त्री नियुक्त पोखरेल व्यावहारिकरूपले अल्पमतमा देखिएका छन् ।
मुख्यमन्त्री पोखरेलको राजीनामासँगै प्रदेश प्रमुख धर्मनाथ यादवले फेरि नेकपा एमालेको एकल बहुमतको दलको संसदीय दलको नेताको हैसियतमा पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरेपछि राष्ट्रिय राजनीतिमै तरङ्ग पैदा भएको छ ।
प्रदेश प्रमुख यादवले मुख्यमन्त्रीमा पोखरेललाई आइतबार दिउँसो नियुक्त गरेर शपथ गराएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय जनमोर्चाको गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख यादवलाई बुझाउँदै सरकार गठनको दाबी दाबी प्रस्तुत गरेको छ । हस्ताक्षर गर्ने ४२ जना सांसद धर्नामा बसेका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाको तर्फबाट माओवादी केन्द्रको संसदीय दलका नेता कुलप्रसाद केसीले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामु दाबी प्रस्तुत गरेका छन् ।
सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले मुख्यमन्त्री पोखरेलको साथ छोडेपछि लुम्बिनीमा नेकपा एमालेको नयाँ सरकार धर्मराएको छ ।
साबिकको नेकपाबाट चुनाव जितेकी विमला केसीले आइतबार नै पत्रकार सम्मेलन गर्दै आफू नेकपा माओवादीमा रहेको बताएपछि पोखरेलको सरकारको संकटमा थप चुलिएको छ ।
आइतबार बिहानदेखि साँझसम्म छिनछिनमा परिवर्तन भइरहेको लुम्बिनी प्रदेशको सत्ता राजनीति अब कुन दिशामा र कसरी अघि बढ्ने हो र प्रदेश सरकारको नेतृत्व कसको हुने भन्ने अनिश्चित बनेको छ ।
आइतबार प्रदेश सभा बैठकमा अविश्वासको प्रस्ताव प्रस्तुत हुने भएपछि नेकपा एमालेको एकल बहुमत हुने हिसाबमा पुनः नियुक्त हुने गरी मुख्यमन्त्री पोखरेलले राजीनामा गरेका थिए ।
अविश्वास प्रस्ताव सामाना गर्दा असफल हुन सक्ने भएकाले उनले राजीनाबाटो छड्के बाटो रोजेका थिए । नभन्दै ४२ जनाको हस्तक्षर बुझाएर उनी पुनः नियुक्त भए ।
हाल कायम ८१ जना सांसद रहेको प्रदेश सभामा नेपाली कांग्रेस र नेकपा माओवादी नेतृत्वको समूहले ४२ जनाको हस्ताक्षरसहित सरकार गठनको दाबी गरेपछि मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेका छन् ।
आइतबारको राजनीतिक सरगर्मी बीच तीन सांसदले नेकपा एमालेको साथ छाडेका छन् । कपिलवस्तु क्षेत्र नम्बर २ (१) का सांसद दृगनारायण पाण्डेयले जनताको बीचमा जानै नसक्ने अवस्था आएकाले सांसद पदबाटै राजीनामा दिएको भन्दै विज्ञप्ति जारी गरेका छन् ।
एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकमा आइतबार बिहान सहभागी भएका पाण्डेयले एमाले पार्टी र सांसद पदबाट राजीनामा दिएको जनाएका छन् ।
अब मुख्यमन्त्री पोखरेललाई अपदस्थ गर्न विपक्षीहरूले अविश्वास प्रस्तावको बाटो समाउनुपर्ने हुन्छ ।