काठमाडौं । देशका २३ भन्दा बढी जिल्ला कोरोनाको दोस्रो लहरको उच्च संक्रमणमा परिसकेका छन् । देश संघीयतामा गए पनि उपत्यका बाहिरका प्रायः जिल्लामा स्वास्थ्य उपचारको गतिलो प्रबन्ध अझै हुनसकेको छैन ।
स्वास्थ्य संकटका बेला आम नागरिकको आशाको केन्द्र आज पनि काठमाडौं उपत्यका नै हो । उपत्यका बाहिर सम्भव नभएको उपचारका लागि आज पनि बिरामीहरू एयरलिफ्टदेखि ५०औं हजारमा एम्बुलेन्स भाडामा लिएर काठमाडौं उपत्यकातिर कुद्ने गर्छन् ।
उपत्यकाका ठूला सरकारी अस्पताल नै एकमात्र विकल्प हुन् भन्ने मनोविज्ञान देशवासीमा छ । तर उपत्यकाका यिनै सरकारी अस्पतालको व्यवस्थापकीय कमजोरीका कारण भने बिरामीहरू ढुक्क र सन्तुष्ट हुनसकेको पाइँदैन ।
कोरोनाको दोस्रो लहरले गाँज्दै लगे पनि ललितपुरस्थित पाटन अस्पताल ९पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान०को व्यवस्थापन कमजोर देखिएको छ । सरसफाइ, कुरुवा व्यवस्थापन तथा कोरोना जोखिम न्यूनीकरणमा अस्पताल प्रशासन चुकेको देखिन्छ ।
उपत्यकाका ठूला सरकारी अस्पताल नै एकमात्र विकल्प हुन् भन्ने मनोविज्ञान देशवासीमा छ । तर उपत्यकाका यिनै सरकारी अस्पतालको व्यवस्थापकीय कमजोरीका कारण भने बिरामीहरू ढुक्क र सन्तुष्ट हुनसकेको पाइँदैन
शुक्रबार दिउँसो पाटन अस्पतालको कोरोना वार्ड पुग्दा बिरामी कुरुवाहरू अस्पतालको व्यवस्थापनप्रति रुष्ट देखिन्थे । उनीहरू समयमा रिपोर्ट नदिएको, सरसफाइ र सेवाग्राहीको गुनासो नसुनेको भन्दै प्रशासनप्रति रोष प्रकट गरिरहेका थिए ।
‘एक दिनमा आउनुपर्ने रिपोर्ट दुई–तीन दिन हुँदा पनि आउँदैन । बिरामी कुरुवा बस्ने ठाउँ पनि लथालिङ्ग छ’, कीर्तिपुर मच्छेगाउँबाट आएका ऋषि श्रेष्ठ फत्फताइरहेका थिए ।
आफ्नी ५२ वर्षीया श्रीमतीलाई कोरोना संक्रमण भएपछि वैशाख ५ गते श्रेष्ठ पाटन अस्पताल आइपुगेका हुन् । तर दुईहप्ता बितिसक्दा पनि डाक्टरहरूले बिरामीको अवस्थाबारे स्पष्ट नबताएको उनको गुनासो छ ।
‘दुई हप्ताभन्दा बढी भइसक्यो बिरामीको अवस्था कस्तो छ भनेर प्रष्ट बताइएको छैन । बाहिर कुरुवा बस्दाको दुःख एकातिर छ, भित्र बिरामीलाई कस्तो पो छ भन्ने चिन्ता अर्कोतिर छ’, हातमा रिपोर्टको मुठो बोकेका श्रेष्ठले दुःखेसो पोखे ।
श्रेष्ठ जस्तै भक्तपुर बालकोटका राकेश केसी पनि पाटन अस्पतालको कोरोना वार्डको व्यवस्थापन फितलो भएको बताउँछन् । मिर्गौलाको समस्या भएका आफ्ना ३५ वर्षीय आफन्तलाई कोरोना संक्रमण भएपछि केसी पाटन अस्पताल आइपुगेका हुन् ।
‘हामीले ठीक समयमा दिएको स्याम्पलको रिपोर्ट जहिले ढिला आउँछ’ केसीले भने, ‘औषधि, कपडा र मेडिकल सामग्री बिरामीसम्म पुर्याउन पनि ढिला गरिन्छ ।’
यहाँ भेटिने बिरामी कुरुवा कोही पनि गुनासोरहित भेटिंदैनन् । रवि श्रेष्ठ भने अस्पतालले कोरोना संक्रमित बिरामीलाई दिने खानामा समस्या रहेको बताउँछन् । श्रेष्ठ सबै बिरामीले अस्पतालले दिएको खाना एकनासले खान नसक्ने बताउँछन् ।
‘बिरामीले खानेकुरामाथि गुनासो गरेका छन् । तर एक साता बित्दासमेत हाम्रो कुरा सुनुवाइ भएको छैन’, आक्रोशित श्रेष्ठले दुःखेसो पोखिरहेका थिए ।
यद्यपि, आफ्नो बिरामीको उपचार राम्रोसँग गरिंदैन कि भन्ने डरले प्रशासनलाई केही भन्न सक्ने अवस्थामा भने उनीहरू देखिंदैनन् ।
‘कोरोना वार्डमा रहेका कुरुवाहरूको यो साझा समस्या हो । तैपनि कसैले ख्याल गरेको पाइँदैन’, उनीहरूको एकस्वर थियो ।
अहिले पाटन अस्पतालले कोरोना वार्डमा रहेका सबै बिरामीलाई आफैं खाना र खाजा खुवाइरहेको छ । वार्डमा बिरामीका आफन्त जान बन्द गरिएको छ । सूचना आदान–प्रदानका लागि नर्स र सुरक्षा गार्डको व्यवस्था गरिएको छ । यसबाहेक बिरामीले मोबाइल तथा इन्टरनेटबाट आफन्तसँग सूचना आदान–प्रदान गरिरहेका छन् ।
यी कुरुवाहरू त प्रतिनिधि पात्र मात्र हुन् । हामी पाटन अस्पतालको कोरोना वार्डमा पुग्दा त्यहाँ रहेको झ्यालबाट कुरुवाहरूले एकसाथ गुनासो पोखिरहेका थिए । उनीहरूले आफ्नो बिरामीको सूचना ठीक समयमा दिनुपर्यो भन्दै नर्सहरूलाई आग्रह गरिरहेका थिए ।
अहिले जनरल वार्डमा ७० जनाभन्दा बढी बेड रहेको पाटनको आईसीयूमा २५ बेड राखिएका छन् । संक्रमित दर बढ्दै जाँदा अस्पतालमा बेड अभाव हुन थालेको छ ।
जोखिम न्यूनीकरणमा लापरबाही
पाटन अस्पतालको मुख्य भवनको दोस्रो तलामा कोरोनाको आईसीयू र जनरल वार्ड बनाइएको छ । यी दुवै वार्ड छिर्ने एउटै मूलढोका छ, जहाँ सुरक्षागार्ड बस्ने गर्छन् ।
शुक्रबार दिउँसो उक्त कोरोना वार्ड पुग्दा ढोका अगाडिको भुइँमै बिरामीका कागजपत्र यत्रतत्र छरिएका थिए । फोहोर भुइँमा बिरामीका रिपोर्ट तथा बिलहरू राख्दा त्यहींबाट पनि संक्रमण फैलिने जोखिम प्रष्ट देखिन्थ्यो ।
वार्ड अगाडि नै खाली बोतल, पुराना स्यानिटाइजरका भाँडा र रगतको प्याकेट छरिएका थिए । वार्डभित्रका बिरामीलाई पठाउनुपर्ने रगतको प्याकेट नै भुइँमा राखेको देखिन्थ्यो ।
यस्तै कोरोनाबाहेक अन्य रोगका बिरामी कुरुवाहरू पनि कोरोना वार्ड अगाडि नै बस्नुपर्दा उनीहरू जोखिममा पर्ने सम्भावना अनुमान गर्न सकिन्थ्यो । कोरोना वार्डकै अगाडि कुरुवाहरू बस्ने बेञ्च राखिएकाले अन्य बिरामीहरू त्यहीं बसिरहेका थिए ।
कोरोना वार्ड छिर्ने पछाडिको झ्यालमा फोहोरका थुप्रोहरू निकै दिनदेखि राखिएको बिरामीका कुरुवाहरू गुनासो गरिरहेका थिए । त्यही फोहोरछेउ सलाइन–स्ट्यान्ड र अन्य स्वास्थ्य उपकरण राखिएको थियो ।
स्वास्थ्यकर्मी झुक्किएर जुनसुकै बेला यी सामग्री प्रयोग गर्नसक्ने खतरा हुँदाहुँदै पनि अस्पताल प्रशासनले समयमा व्यवस्थापन गरेको देखिंदैन ।
कोरोना वार्ड व्यवस्थापनबारे हामीले पाटन अस्पतालका कोरोना फोकल पर्सन डा। विमल पाण्डेसँग सोध्यौं । पाण्डेले कोरोना बिरामीका लागि कुरुवाको जरुरत नै नपर्ने दाबी गरे ।
‘हामीले कोरोना बिरामीको लागि कुरुवा नै चाहिंदैन भनेका छौं’ डा। पाण्डेले भने, ‘तैपनि बिरामीका आफन्त वार्डमा आउँछन् भने उनीहरू संक्रमित हुनसक्ने खतरा झन् उच्च हुन्छ ।’
उनले सरसफाइको समय तल–माथि हुँदा वार्ड वरपर केही फोहोर देखिएको भए पनि संक्रमित राखिएको कक्षमा कडा स्वास्थ्य प्रोटोकल पालना गरिएको जिकिर गरे ।