मेरोबारे मात्रै लेख्नु, मैले सोचे जस्तै लेख्नु
क्यावात ! यस्तो पो पत्रकार !
मैले देखें जस्तै खिच्नु, मैले हेर्न चाहेको जस्तै देखाउन
अनि पो जवर्जस्त, पत्रकार !
म जहाँ पुग्छु, त्यहीँ पुगिहाल्ने,
म सुते सुतिहाल्ने
क्या अब्बल, पत्रकार !
म बर्बराउछु, उसले माधुर्यता देख्छ
यस्तो पो हो हाम्रो पत्रकार ।।
पाउँदैन त्यस्तो अनि सत्ता बर्बराउँछ
मैले भने जस्तो पनि लेख्दैन
सोचेजस्तो पनि लेख्दैन
प्रतिगामी कलम चलाउने बेइमान पत्रकार ।
म डकारेर बस्छु, ऊ नखाए पनि अघाएझैँ गर्छ
म सुते पनि उठिरहन्छ, कस्तो उल्लु पत्रकार
म तेज दौडन्छु खरायो जस्तै
धर्ती थेग्न खोज्छु हुटिट्याउँ जस्तै
ऊ कछुवा जस्तो आफ्नै तालमा हिँड्छ
अल्छि पत्रकार
म कालो देखाइ उज्यालो छ भन्छु
मेरो बर्खिलाप पो लेख्छ
अन्धो पत्रकार
मेरो हो मा हो मिलाउने
हजारौँ भजनमण्डली छन्
तर पनि एक्लै चिच्याउँछ
नाथे पत्रकार ।
मेरो बालुवाटारको वरपर थुप्रैले
जय जयकार गरेका छन्
झुपडीमा बसेर बालुवाटारलाई
धकेल्न खोज्छ पत्रकार ।
ऐस, आराम अनि नगद जिन्सी दिन्छु भन्दा पनि
आफ्नै विवेकको कलमले
किन घोच्छ पत्रकार रु
म भन्छु,
पत्रकार लहडिन सक्छ,
पत्रकारिता लतार्दैन पत्रकार ।
देश, जनता अनि सार्वभौम
यो भन्दा सानो छैन पत्रकार
किन्न खोज्नेको भकारी सकिन्छ
लुछ्न् खोज्नेको दारा भाँचिन्छ
तर पनि निर्भिक हुन्छ पत्रकार
निर्भिक रहिरहोस् हाम्रो पत्रकार ।।