नेपालको राजनीतिक प्रणाली र कर्मचारीतन्त्रमा शुद्धिकरण आजको एक नम्बर मुद्दा हो। यसलाई नजरअंदाज गर्नु नर्कमा बास बसरिरहन अभशप्त हुनु हो । स्मार्ट समाज वा सहर बन्नका लागि मान्छे पहिला स्मार्ट बन्नुपर्छ वा बन्ने चाहना हुनुपर्छ। जेमा पनि डिजिटल प्रविधिको चुस्त सदुपयोग गरेर मानिसका सेवा सुविधा प्रभावकारी उपलब्ध हुने र तत्कालै सेवाग्राहीका माग बमोजिमका सेवा आपूर्ति हुने प्रणाली स्मार्ट प्रणाली हो। तिब्र गतिमा आफूतिर हुत्तिदै आएको अनिश्चित भविष्यलाई तत्क्षण सम्बोधन गर्दै सिस्टमले सम्हाल्दै सहज पार्ने प्रणाली स्मार्ट हो।
कति मान्छे तिनका सीप र दक्षताका लागि योग्य हुन्छन्, कति मान्छे तिनका नविन आईडियाका निम्ति योग्य ठहरिन्छन्। आईडिया छ भने विश्वमा जहॉबाट पनि सीप खोज्न सकिन्छ र पाईन्छ पनि । तर आईडिया खोज्न सकिन्न, त्यो सिर्जना हुनुपर्छ। ग्वॉजे दिमाग र बिनासीपका सरकारले स्मार्ट सहर, स्मार्ट मुलुक, स्मार्ट शासन प्रशासन प्रणाली कहिल्यै बनाउन सक्दैन। जागरूक, तीब्र गतिशील, प्रविधि गतिवान, प्रम्प्ट रेस्पोन्सिप सरकारबिना यो जमानामा कुनै पनि देश गुहेपोखरी मात्र बन्दै जाने हो। नेपाल यसको नमूना बन्दै गएको प्रष्ट छ।
बिदेशी मुलुकको अनुदान सहयोग बिनास्वार्थ कसैले दिन्नन्। कुनै मुलुकले त्यो लिने नलिने त्यसमा आफ्नो स्वार्थ कति हो त्यो निर्णायक हुन्छ। घिच्नैपर्छ भन्न मिल्दैन। मुलुकमा घिचाउने र घिच्ने तर्क गरिरहनु नै वाहियात हो। अनुदान लिने नलिने सरकारको कार्यक्षेत्र हो, संसदको काम हैन। सरकार निर्माणकर्ता संसदलाई परियोजनाहरू बनाउदा निरन्तर सधैं विश्वासमा लिनु सरकारको जिम्मेवारी हो। संसदको विश्वास नलिएको दिनमा वा गुमाएको दिनमा लोकतन्त्रमा सरकार चट् हुन्छ। बिदेशी मुलुकको अनुदान वा सहयोगले मुलुक बन्छ भन्नु भ्रम हो। बिकास गर्ने हो भने बिदेशी लगानी र स्वदेशी पुँजि, श्रोत, जनशक्ति र श्रमको अधिकतम उपयोग गर्नुपर्छ।
ईतिहास मेटाएर रमाउनेहरूको ईतिहास पनि भविष्यमा मेटाईने निश्चित छ। बिकसित मुलुकहरूमा जे को पनि ईतिहासको संरक्षण र जगेर्ना गरिएको हुन्छ। जहॉ पनि जेको पनि म्युजियम स्थापित हुन्छन्, जो ज्ञानका केन्द्रहरू हुने गर्छन्। म्युजियम हेरेपछि सिर्जनात्मकता ट्रिगर हुन थाल्छ। नेपालमा राजनीति दाउपेचको बिकृत ईतिहास मात्र भेटिन्छन्। समाज बिकासका पक्षहरूका कुनै म्युजियम वा ईतिहासको सम्बर्धन वा जगेर्ना गरेको पाईदैन। भत्काउप्रसाद र तोडफोडबरादुरको केही ईतिहास मात्र जिवित छन्, त्यो ईतिहास पनि चॉडै तोडिने छन्।
तन्नम् देशको लक्षण यस्तै हुने गर्दोरहेछ। जसको ईतिहासको जगेर्ना छैन, उसको वर्तमान र भविष्यको जगेर्ना पनि हुनेछैन। ज्ञानीहरू सधैं आफूलाई अज्ञानी ठान्छन्, मूर्खहरू सधैं आफूलाई विद्वान ठान्छन्। अहिलेको मुलुकको शिक्षा प्रणालीले यही अज्ञानी बैज्ञानिक डाक्टर-पगरीधारीहरू उत्पादन गर्दै गरेको छ।
लेखक पुर्व सचिव हुन् ।