अन्योलमा एसईई र १२ कक्षाको परीक्षा
  • CIA Khabar

  • काठमाडौँ । नयाँ भेरिएन्ट सहितको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) र १२ कक्षाको वार्षिक परीक्षा अन्योलमा परेको छ ।

    परीक्षाको मिति नजिकिँदै जाँदा स्कुले विद्यार्थीहरूमा पनि संक्रमण दर बढेको छ । संक्रमण नियन्त्रण गर्न देशका करिब ६० जिल्लामा निषेधाज्ञा छ ।

    यता राष्ट्रिय परीक्षा बोर्ड भने परीक्षाका बारेमा अनिर्णित छ । बोर्डले एसइई र १२ कक्षाको परीक्षाको तयारी पूर्वनिर्धारित तालिकाअनुसार भइरहेको जनाएको छ ।

    बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले खबरहबसँग भने, ‘यो महिनाभर हामी रोक र हेर भन्ने अवस्थामा छौँ, कोरोना संक्रमणको अवस्था यस्तै रहेको खण्डमा आवश्यक निर्णय गर्छौं ।’

    उनका अनुसार यो महिनाको अन्तिममा परीक्षाको विषयमा निर्णय हुनेछ । परीक्षा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको पनि उनले बताए ।

    ‘परीक्षाको विषयमा बोर्डमा विभिन्न चरणमा छलफल पनि चलिरहेको छ,’ अध्यक्ष पौडेलले भने, ‘छलफल चलिरहेको छ तर अहिले नै केही भन्न मिल्दैन ।’

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले पनि परीक्षा सञ्चालनको विषयमा अहिले नै केही भन्न सक्ने अवस्था नरहेको बताए । उनले भने, ‘संक्रमणको अवस्था हेरेर यो महिनाको अन्तिममा आवश्यक निर्णय गछौँ ।’

    नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्डले गत एसईई जेठ १३ गते र १२ कक्षाको परीक्षा जेठ २६ गते शुरू हुने गरी गत फागुन २६ गते तालिका सार्वजनिक गरेको थियो ।

    स्थगन गर्न सुझाब !

    एसइई र १२ कक्षाको परीक्षा तत्कालको लागि रोक्नुको विकल्प नरहेको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीको भनाइ छ । उनले भने, ‘विद्यार्थीहरूले घरबाटै परीक्षा दिने गरी वैकल्पिक उपाय खोज्नुपर्छ ।’

    विद्यार्थीहरूको स्वास्थ्य सुरक्षा ध्यानमा राखेर तत्कालको लागि परीक्षा स्थगित गर्नुपर्ने पनि उनले बताए ।

    काठमाडौँको पद्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणसाद गौतमले पनि पूर्वनिर्धारित समयमा परीक्षा सञ्चालन गर्न नसकिने बताए ।

    उनले भने, ‘अहिलेको अवस्थामा भौतिकरूपमा परीक्षा सञ्चालन गर्दा संक्रमण भयावह हुन्छ ।’

    अहिल परीक्षा सञ्चालन गर्नु उपयुक्त नहुने जनस्वास्थ्यविद् डा। रवीन्द्र पाण्डेको भनाइ छ ।

    उनले भने, ‘नयाँ भेरिएन्टसहितको भाइरस विद्यालय उमेर समूहका बालबालिकामा बढी देखिएकाले परीक्षा चलाउँदा जोखिम बढ्छ ।’

    भर्चुअल माध्यमबाट परीक्षा लिन सम्भव नभएकाले तत्कालको लागि स्थगित गर्नुपर्ने उपयुक्त हुने उनको सुझाव छ ।

    यस्तो अवस्थामा परीक्षा चलाउँदा विद्यार्थीहरूमा मानसिक तनाव बढ्न सक्ने पनि डा। पाण्डेको भनाइ छ ।

    गत वर्षकै नियति !

    गत वर्ष एसईई परीक्षा शुरु हुनु दुई दिनअघि सरकारले स्थगन गरेको थियो । लामो समय लकडाउन भएपछि विद्यालयले लिएको अन्तिम परीक्षाका आधारमा विद्यालयले पठाएको ग्रेड अनुसार नतिजा प्रकाशित गरिएको थियो ।

    १२ कक्षाको परीक्षा भने लकडाउन अन्त्य भएपछि विद्यालयमै केन्द्र राखेर सञ्चालन गरिएको थियो ।

    जनस्वास्थ्य विज्ञहरूले जेठ अन्तिमदेखि असार मध्यसम्ममा कोरोना भाइरस संक्रमण उच्च बिन्दुमा पुग्ने अनुमान गरेका छन् । विद्यालयमा चालु शैक्षिक वर्षको पढाइ ढिलो शुरू भएपछि दुई महिना थपेर जेठ मसान्तसम्म पुर्याइएको थियो ।

    आगामी असार १ गते अर्को शैक्षिक वर्ष शुरू हुनुपर्नेमा चालु वर्षको वार्षिक परीक्षा नै अन्योलमा परेको छ ।

  • २४ बैशाख २०७८, शुक्रबार १२:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images