काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बस्नेगरी बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा सहभागी नहुने भएका छन् ।
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र नियुक्तिविरुद्ध सभामुख सापकोटाले दायर गरेको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।
आफैले दायर गरेको मुद्दा किनारा नलागेको अवस्थामा सभामुख सापकोटा परिषद्को बैठकमा सहभागी नहुने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।
‘संवैधानिक परिषद्को आइतबारको बैठकमा सभामुख जाने अवस्थै छैन । सरकारले ल्याएको अध्यादेशविरुद्ध सभामुख आफै अदालत जानुभएकोले परिषदको बैठकमा जानुहुन्न’, न्यौपानेले एस एन एन नेपालसँग भने ।
प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति देउवा पनि बैठकमा अनुपस्थित रहनेछन् । कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारले संसद छलेर अध्यादेशबाट शासन चलाउन खोजेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा जान उपयुक्त नभएको बताए ।
‘हामी संवैधानिक परिषद सम्बन्धी अध्यादेशको खिलाफमा छौं । त्यही अध्यादेशको आधारमा बस्ने बैठकमा सभापतिजी जाने कुरै आउँदैन’, महतलेएस एन एन नेपालसँग भने ।