काठमाडौं । वागमती प्रदेश सरकारले ‘विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८’ स्वीकृत गरेको छ । अपग्रेटेड भेहिकल रजिष्ट्रेशन सिष्टम (भीआरएस) सहितको ट्रान्सपोर्ट म्यानेजमेन्ट इनफरमेसन सिष्टम विकास कार्यान्वयन गर्न स्वीकृति गरिएको छ ।
कर्मचारी व्यवस्थापन गरि केही हप्ता भित्र सेवाग्राहीले विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा र राजस्व भुक्तानी कार्यालयमा नपुगी लिन सक्ने छन् ।
सवारी साधन नवीकरण तथा राजस्व तिर्नका लागि घण्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । सवारीसाधनको राजस्वसँगै तेस्रो पक्ष बिमा रकमसमेत अनलाइनमार्फत भुक्तानी गर्न सकिने छ ।
वागमती प्रदेशभित्रका यातायात कार्यालयबाट सेवाग्राहीले आफ्नो सवारी साधन तथा सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित विभिन्न शीर्षक अन्तर्गतका राजस्व विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
यो नेपालमा पहिलो पटक अनलाइनबाट नै यातायात सम्बन्धी सबै रकम बुझाउने व्यवस्था गरिएको हो । यसबाट राजश्व संकलन गर्न सहज हुनेछ ।