माओवादी केन्द्रबाट निर्वाचित लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त भएका छन् । प्रदेश सभाको मंगलबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् । न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ (२) र दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २(२) बाट निर्वाचित भएका थिए ।
प्रदेश सभा संसदीय दलको निर्णय र नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको जानकारी प्रदेश सभा सचिवालयमा प्राप्त भएको सभामुख घर्तीले जानकारी गराएका थिए । प्रदेश सभाको नियमावलीको १ सय ९२ बमोजिम दल त्यागको सूचना बैठकलाई दिएमा त्यस्तो सदस्यको स्थान रिक्त रहने मानिने छ भन्ने व्यवस्था अनुसार न्यौपाने र पन्थीको प्रदेश सभा सदस्य पद आजका मितिबाट रिक्त रहने व्यहोरा सभामुखले प्रदेश सभा वैठकमा जानकारी गराएका थिए ।
दुई सांसदको पद रिक्त भएको घोषणा गरेसँगै चालु संसदको अधिवेशन पनि अन्त्य भएको छ ।लुम्बिनी प्रदेशको कुल ८७ सांसदमध्ये सभामुखसहित माओवादी केन्द्रका २० सांसद छन् । दुई जना पदमुक्त भएपछि अब माओवादी केन्द्रसँग १८ सांसद कायम रहनेछन् ।