भक्तपुर । भक्तपुर प्रहरीले जिल्लाभरबाट ९५ थान अक्सिजन सिलिन्डर संकलन गरेको छ । जसमध्ये २० वटा भरिएको र ७५ वटा खाली रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
संकलन भएका अक्सिजन सिलिन्डर सबै अस्पताललाई हस्तान्तरणसमेत गरिसकिएको उनले बताए । उनका अनुसार भक्तपुर अस्पताललाई भरिएको ५ र खाली ५० वटा गरी ५५ वटा उपलब्ध गराइएको छ । मध्यपुर थिमि नपास्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई २५ वटा खाली अक्सिजन सिलिन्डर उपलब्ध गराइएको छ ।
त्यस्तै मध्यपुर थिमि नपाकै भक्तपुर इन्टरनेसनल अस्पताललाई भरिएको १२ वटा अक्सिजन सिलिन्डर उपलब्ध गराएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । उक्त अवस्थामा अक्सिजन अभाव हुँदा केही दिनअघि दुईजना कोरोना भाइरस संक्रमितले ज्यान गुमाउनुपरेको थियो ।
प्रहरी नायब उपरीक्षक गिरीले बाँकी ३ वटा भरिएको अक्सिजन सिलिन्डर ललितपुरस्थित अल्का अस्पताललाई उपलब्ध गराइएको बताए ।पछिल्लो समय नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढिरहेको छ । जसले गर्दा देशभरका अस्पतालमा शय्यासँगै अक्सिजनको अभाव बढेको छ । सोही अभाव हटाउन केही मद्दत पुग्ने गरी भक्तपुर प्रहरीले गैरस्वास्थ्य क्षेत्रमा रहेका अक्सिजन सिलिन्डर संकलन थालिएको जनाएको छ ।