काठमाडौं- प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल एक साताअघि काठमाडौंको एक स्कुलमा पुगे। उनी साना बालबालिकामा पनि कोभिड संक्रमण देखिएपछि छड्के अनुगमनमा स्कुलमा पुगेका थिए। बराल सिसिएमसी समितिका संयोजक पनि हुन्।
उनी स्कुल पुग्दा बालबालिकाको खाजा समय थियो। स्कुल पुगेपछि उनी आश्चर्यमा परे। उनले आधारभूत तहका बालबालिकाले ६–७ जनाको समूहमा बसेर एउटै प्लेटमा चाउमिन खाइरहेको देखे। त्यतिमात्र होइन, उनले बालबालिकाले आफूले लगाएको मास्क फुकालेर साटासाट गरेको पनि देखे। पानीको बोतल पनि एउटै प्रयोग गरेको देख्दा उनी आश्र्यचकित बने। उनले यो कुरा स्वास्थ्य मन्त्रालयका अधिकारीसँगको छलफलमा सुनाए।
‘स्कुलमा अनुगमनमा पुग्दा विद्यार्थीले मास्कसमेत साटासाट गरेर लगाएको देखियो,’ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले भने, ‘यतिमात्र होइन, बालबालिकाले एउटै बोतलबाट पानी पिएको पाइयो। प्राथमिक तहका बालबालिकाले स्वास्थ्य सुरक्षाको कुनै मापदण्ड नअपनाएको, हात साबुनपानीले नधुने र शिक्षकले पनि मास्क लगाउन छाडेको पाइयो।’
‘स्कुलमा अनुगमनमा पुग्दा विद्यार्थीले मास्कसमेत साटासाट गरेर लगाएको देखियो,’ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले भने, ‘यतिमात्र होइन, बालबालिकाले एउटै बोतलबाट पानी पिएको पाइयो। प्राथमिक तहका बालबालिकाले स्वास्थ्य सुरक्षाको कुनै मापदण्ड नअपनाएको, हात साबुनपानीले नधुने र शिक्षकले पनि मास्क लगाउन छाडेको पाइयो।’
यसैकारण महाशाखाले सिसिएमसीमा विद्यालयमा उच्च स्वास्थ्य सतर्कता अपनाउनुपर्ने र कोभिड संक्रमणबाट जोगिन सकेसम्म अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने सुझाएको उनले बताए। निर्देशक डा. पौडेलका अनुसार हाल ११ वर्षदेखि २० वर्ष उमेर समूहका विद्यार्थीमा कोरोना संक्रमण जोखिम उच्च देखिएको छ। यसअघि कोरोना संक्रमणको जोखिममा १८ वर्ष उमेरमुनिका बालबालिका ५–६ प्रतिशतसम्म मात्र थिए। यसपटकको कोरोना संक्रमणको उच्च जोखिममा बालबालिका पनि रहेको मन्त्रालयले जनाएको छ। १८ वर्षमुनिका बालबालिका १५ प्रतिशत कोरोना संक्रमणको जोखिममा रहेको तथ्यांक रहेको डा. पौडेलले बताए।
‘यसअघि अस्पतालको आइसियुमा भर्ना हुनेमा बढी उमेर भएका धेरै हुन्थे तर यो पटक कोरोना जोखिम बढेसँगे १८ वर्षमुनिका बालबालिका पनि आइसियुमा भर्ना भएका छन्,’ पौडेलले भने, ‘बालबालिकामा कोरोनाको युके भेरिएन्ट देखिएको छ। जोखिम पनि यही समूहमा बढी छ। यसैकारण अब हाम्रो फोकस विद्यालय केन्द्रित छ। विशेषगरी कक्षा ८ सम्मका बालाबलिकामा साइलेन्ट केरियर दर बढी पाइएको छ।’
बपौडेलका अनुसार बालबालिकामा साइलेन्ट केरियर दर बढी भएको र यस्ता बालबालिकामा कोरोनाको लक्षण नदेखिने भएकाले पनि जोखिम बढेको हो। ‘भाइरल लोड यी बालबालिकामा बढी छ। तर लक्षण देखिँदैन। आमाबुवाले पनि वास्ता गरेका छैनन्,’ उनले भने, ‘जसका कारण विद्यालयमा जोखिम बढी छ। अब कक्षाहरू अनलाइनबाटै गराउन स्वास्थ्य मन्त्रालयले सिसिएमसीमा सुझाव दिएको छ।’ हालको अवस्थामा जनस्वास्थ्यका सामान्य मापदण्ड पनि विद्यालयहरूले पालना नगरेको पाइएको स्वास्थ्य मन्त्रालयको अध्ययनले देखाएको छ।
अध्ययनअनुसार काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, सप्तरी, बारा, पर्सा, चितवन, कास्की, रुपन्देही, पाल्पा, दाङ, कञ्चनपुर, कैलाली, बाँके, सुर्खेतलगायतका जिल्लाका मुख्य सहरहरूमा कोरोना संक्रमणको जोखिम उच्च देखिएको डा. पौडेलले बताए। ‘यी सहरमा परीक्षण कम छ तर परीक्षण गरिएकामा कोरोना पोजेटिभ बढी पाइएको छ,’ उनले भने, ‘अघिल्लो चैतमा लकडाउन गरिएको थियो तर अहिले सबै खुला भएको र अधिकजसोले स्वास्थ्य सुरक्षाका सामान्य मापदण्डसमेत पालना नगरेकाले सहरमा कोरोना जोखिम व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।’
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना कहरबाट जोगिन देशभरिका विद्यालयमा विद्यालय सञ्चालन कार्यढाँचा कार्यान्वयन गर्न निर्देशन जारी भइसकेको बताए। ‘विद्यालय बन्द नै कोरोना जोखिमबाट बाँच्ने विकल्प होइन,’ उनले भने, ‘विद्यालयहरूलाई स्वास्थ्यसम्बन्धी उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ। अब स्थानीय निकायले विद्यालयहरूले विद्यालय सञ्चालन कार्यढाँचा पालना गरे÷नगरेको अनुगमन र व्यवस्थापन गर्नुपर्छ।’