देउवासामू माधवले गरे कांग्रेस-माओवादीको मतियार बन्ने अठोट
  • CIA Khabar

  • काठमाडौं । एमालेका निलम्बित नेताद्वय माधवकुमार नेपाल र भीम रावलले कांग्रेस र माओवादीलाई सज हुने गरी आफूहरु अघि बढने प्रतिवद्धता जनाउनु भएको तथ्य खुलेको छ । मंगलवार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलमा नेता नेपाल र रावलले आफूहरुको मिशन प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध रहेकोले त्यसै अनुसार कांग्रैस माओवादीलाई सघाउने गरी अघि बढने प्रतिवद्धता जनाउनु भएको हो ।

    देउवा निकट एक नेताले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार बैठकमा नेता नेपालले केपी ओलीलाई अल्पमतमा पार्न पुग्ने संख्यामा सांसदको राजीनामा गराउने प्रतिवद्धता जनाउनु भएको छ । नेपाल र रावलले मंगलवार साँझ ८ बजेदेखि ९ बजेसम्म देउवा निवास बूढानीलकण्ठमा छलफल गर्नुभएको हो । त्यसक्रममा उहाँहरुले आफूहरुले सघाउने भन्दै वैकल्पिक सरकार गठनको प्रक्रियामा अघि बढ्न देउवालाई सुझाउनु भएको थियो । वार्तामा देउवाले जसपाको महन्थ ठाकुर पक्ष कुनै हालतमा वैकल्पिक सरकारको पक्षमा नउभिने भएपछि आफू नचाहिने खेलमा नलाग्ने बताउनु भएपछि नेपाल र रावलले यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।

    देउवाले एमालेबाट कम्तीमा १६ सांसदको राजीनामा हुनुपर्ने प्रस्ताव राख्नुभएको छ । नेपाल र रावलले ओलीलाई सत्ताच्यूत गर्न जति सांसद आवश्यक पर्ने हो, त्यत्तिको राजीनामा गराउन आफूहरु तयार रहेको बताउनु भएको छ । तर नेपाल समुहमा राजीनामाको पक्षमा ८ जना सांसद पनि छैनन । अधिकांशले अध्यक्ष ओलीलाई सहमतिका साथ अघि बढन दवाव दिने तर कांग्रेस माओवादीको मतियार नबन्ने अडान राखेका छन ।

    मंगलवार नै भएको नेपाल पक्षको भर्चुअल स्थायी कमिटी बैठकमा नेताहरुबीच राजीनामाबारे कुरा मिलेको थिएन । घनश्याम भुसाल, योगेश भट्टराईलगायतका नेताहरुले आफूहरु सत्ता समीकरणमा नभइ केपी ओलीलाई पार्टी एकताको लागि बाध्य पार्ने अभियानमा रहेको भन्दै कांग्रेस माओवादीको मतियार बन्न अस्वीकार गर्नुभएको हो ।

  • २९ बैशाख २०७८, बुधबार १२:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images