रुपन्देहीमा पीसीआर परीक्षण गरिएका ७५ प्रतिशत संक्रमित
  • CIA Khabar

  • बुटवल । रुपन्देहीमा एकै दिन ९०७ जना कोरोना संक्रमित भएका छन् । यो संख्या रुपन्देहीमा एक दिनमा देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

    जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीले बुधबार सार्वजनिक गरेको विवरणअनुसार २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ । मृत्युको यो संख्या पनि अहिलेसम्मको उच्च हो ।

    जिल्लामा सक्रिय संक्रमितको संख्या ७ हजार नाघेको छ । हालसम्म ३०९ जनाको मृत्यु भएको छ ।

    बुधबारको विवरणअनुसार रुपन्देहीमा १ हजार २०४ जनाको आरटीपीसीआर परीक्षण गर्दा ९०७ जना संक्रमित फेला परेका हुन् । यो संख्या परीक्षण गरिएका मध्ये ७५ प्रतिशतभन्दा बढी हो । बुटवल उपमहानगरमा सबैभन्दा ३९५ जना संक्रमित फेला परेका छन् जसमा १९० जना महिला र २०५ जना पुरुष छन् ।

    रुपन्देहीमा संक्रमितको मृत्युदर २ प्रतिशत छ । जिल्लामा अहिले लक्षणसहितका ३७६ जना संक्रमित विभिन्न आइसोलेसन सेन्टरमा र ६ हजार ६२६ जना होम आइसोलेसनमा छन् ।

    अक्सिजन नहुँदा ५ जनाको मृत्यु 

    बुटवलमा सञ्चालित कोरोना विशेष अस्पतालमा अक्सिजन सकिँदा ५ जना संक्रमितको मृत्यु भएको छ । अक्सिजन दिइएका कोरोना संक्रमितको अक्सिजन सकिएपछि मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

    अस्पतालका प्रवक्ता डा। विष्णु गौतमका अनुसार अक्सिजन सकिएको सूचना गर्दा पनि समयमा उपलव्ध नहुँदा उपचाररत संक्रमितको मृत्यु भएको हो । बेडमा रहेका संक्रमितहरूलाई आधा घण्टा अक्सिजन दिन नसकिएको उनले बताए ।

    निषेधाज्ञा लम्बियो

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा निषेधाज्ञाको म्याद थपेको छ । बुधबार भएको जिल्लाको उच्चस्तरीय समितिको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा बढाउन सिफारिस गरेको थियो ।

  • २९ बैशाख २०७८, बुधबार २०:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images