माधव नेपाल : कोटेश्वरमा तातो, चपली हाइटमा चिसो !
  • CIA Khabar

  • फाइल फाेटाे

    काठमाडौ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले विहीबार दिउँसो संविधानविद् एवं कानुनविद्हरुसँग कोटेश्वरस्थित आफ्नै निवासमा परामर्श गरे । एमालेका २० सांसदको सामुहिक राजीनामा खल्तीमै बोकेर छलफलमा उपस्थित नेता नेपाल कानुनविद्सँग अलि खरोरुपमा प्रस्तुत भए । वकिलहरूलाई उनले ‘पानी मरुवा’ भन्नसमेत भ्याए ।

    कानुनी परामर्शका पुगेका वकिलहरूमा बरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दी र टीकाराम भट्टराई थिए । उनीहरु तीनैजना एमाले निकट कानुन व्यवसायी हुन् ।

    नेता नेपालको निवासमा पुगेका तीनैजनाले अहिलेको अवस्थामा सांसद पदबाट सामुहिक राजीनामा दिन नहुने सुझाव नेता नेपाललाई दिएका थिए । तर, नेता नेपालले तातिँदै आफूहरुलाई थर्काएको सहभागी एक अधिवक्ताले सुनाए ।

    माधव नेपाल पक्षका सांसदहरुको सामुहिक राजीनामाले एमालेको एकतालाई बल नपुर्‍याउने, त्यसो गर्दैमा धारा ७६(२) अनुसारको सरकार पनि नबन्ने र जनताले चुनेर पठाएका प्रतिनिधिले मतदातामाथि न्याय गरेको पनि नठहरिने वकिलहरूको साझा सुझाव थियो ।

    तर, नेता नेपालले राजीनामा दिई छाड्ने प्रतिवद्धतासहित झोक्किँदै भने, ‘तपाईंहरु यस्तो डरछेरुवा कुरा नगर्नोस् । यो पानी मरुवा कुरा हो । २०३२ सालदेखि मैले यो पार्टी बनाएको हुँ, अबको दुई वर्षमा म एमालेलाई अहिलेकै ठाउँमा ल्याइपुर्याउँछ ।’

    कानुनविद्हरुले नेता नेपाललाई सम्झाउँदै भने, ‘तपाईहरु २० जनाले राजीनामा दिँदैमा केही हुँदैन, धारा ७६(३) कै सरकार बन्छ । महन्थ ठाकुरको हस्ताक्षरले मात्रै वैधानिकता पाउने भएकाले उपेन्द्र यादवहरूको समर्थनले पार्टीगत मान्यता पाउँदैन, त्यसैले तपाईहरुले राजीनामा दिए पनि केपी ओली नै प्रधानमन्त्री बन्छन् ।’

    कानुनविद्हरुले नेता नेपाललाई थप सम्झाए, ‘बरु ३० दिनपछि केपी ओलीले विश्वासको मत लिने बेलामा सोच्दा हुन्छ । त्यतिबेलासम्म एमालेमा एकताको आधार पनि बन्न सक्ला, नभए पनि त्यसपछि धारा ७६ ५ अनुसार बन्ने सरकारका लागि दल चाहिँदैन, व्यक्तिले मान्यता पाउँछ र त्यो बेला महन्थ ठाकुरको हस्ताक्षर नभए पनि संख्या पुर्‍याएर सरकार बन्न सक्छ, त्यसबेला राजीनामा दिनुभयो भने त्यसले अर्थ राख्छ ।’

    यसरी बहस हुँदै जाँदा नेता नेपाल एक महिनापछिको विश्वासको मत लिने बेलासम्म केपी ओलीलाई पर्खेर हेर्न सहमत देखिएको छलफलमा सहभागी वकिलले बताए ।

  • ३१ बैशाख २०७८, शुक्रबार १०:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images