युवा नेता विशाल अधिकारीको प्रधानमन्त्री ओलिलाइ खुल्लापत्र
  • विशाल अधिकारी

  • कपिलवस्तु ,

    प्रधानमन्त्री केपी शर्मा ओलीज्यू,

    सम्माननीय केपी शर्मा ओलीज्यू सर्वप्रथम त तेस्रो पटक प्रधानमन्त्री बन्नु भएकोमा धेरै धेरै शुभकामना ! कार्यकाल सफल बनोस् । तपाइँलाई शुभकामना दिदै गर्दा अहिले देशमा हरेक सात मिनेटमा कम्तिमा एक नेपालीको कोरोनाबाट मृत्यु भइरहेको छ, सरकारी आँकडा नै भएकाले यहाँलाई अवगत नै होला ।

    राजधानीकै मुटुमा रहेको वीर अस्पतालमै अक्सिजन अभावमा मृत्युको खबरले देशमा सरकार नभएको र अब सबै भरोसा सधै झैँ उनै पशुपतिनाथमा पुगेको अनुभव भएको छ । जनता कोरोनासँग युद्ध मैदानमा छन् । जनताको सास रोकिएको छ । अक्सिजन पाउन सत्ता, शक्ति र पैसाको समीकरण मिल्नुपर्ने भएको छ । ज्यान जोगाउन अस्पतालको गेट चाहार्दा एम्बुलेन्समा, ट्याक्सीमा, ट्रयाक्टरमा ज्यान गएको छ । अर्को शब्दमा भन्दा एक किसिमको नरसंहार नै भएको छ ।

    जनताको लडाईमा तपाइँ नेतृत्वको सरकार लाचार मात्र बनेको छैन, मुकदर्शक बनेको छ । जनताको यो कठोर संघर्षका बीच तपाइँ राजनीतिक लडाई जितेर फेरी प्रधानमन्त्री बन्नु भएको छ । यस अवस्थामा तपाइँलाई शुभकामना दिनेकी अक्सिजनको जोहो गर्न नसकेर ज्यान गुमाएकालाई श्रद्धान्जली दिने साच्चै अलमलमा छु । यसबीचमा यहाँको सक्रियता पार्टीका बैठक, भेला, शिलान्यास र उद्घाटनमा देखिएकै हो ।

    यसको अर्थ यो गर्न नहुने भन्ने होइन । विकास र समृद्ध नेपाल हुनुपर्छ भन्ने तपाइँले देखेको र देखाएको सपना ठिक थियो र छ तर यो सबको अनिवार्य सर्त जनता बाच्नु पर्छ भन्ने हैन र ? जनता नै नरहे तपाईले हालै उद्घाटन गरेको धरहरामा को चढ़ला ? तपाईलाई यो सब ज्ञान छैन भन्ने म पत्याउदिन । तर किन सरकारको काम लास गन्ने मात्र भएको होला भन्ने प्रश्नले म जस्तो युवाको मनमा आधी ल्याएको छ, छटपटी बनाएको छ । उमेरले परिपक्क नभएपनि घटनाक्रम र देशको अवस्थाले बुझ्नै पर्ने, सिक्नै पर्ने र बोल्नै पर्ने बनाएको छ । देश लकडाउनमा छ जनता घरमा बन्द छन्, तर तपाइँहरु राजनीतिक लडाईमा राजीनामा र शपथको गोल चक्करबाट बाहिर निस्किन सक्नु भएको छैन ।

    केन्द्रदेखि प्रदेश सरकारसम्म हालत उस्तै छ । सरकारी संयन्त्र अस्तव्यस्त भएको छ र ज्यान जोगाउन छटपटाई रहेका जनता अभिभावक नभएको टुहुरो जस्तो बनेका छन् । यस स्थितिमा तपाइँले आफ्नो तेस्रो कार्यकाल शुरु गर्दै हुनुहुन्छ । अब तपाइले कम्तिमा जनता अक्सिजन नपाएर मर्नु नपर्ने अवस्था कहिले बनाउनु हुन्छ ? कोरोनाको अग्नि परीक्षामा जनता भए जस्तै तपाइँ पनि शायद तपाइको राजनीतिक जीवनको कठिन मोडमा हुनहुन्छ ।

    अस्पतालले विरामी भर्ना लिन्न भन्ने हिम्मत तपाइँहरुकै लाचारी र सेटिंगको उपज हो भन्न हामी जस्ता सामान्य युवाले बुझिसकेका छौं तर तपाइँहरुले बुझ पचाउनु भयो । हेरिरहनु भयो, सुनिरहनु भयो । देशको नेतृत्व तपाइले गरेको हुनाले यो सबको दोष पहिला तपाइँलाई नै जान्छ । तपाइँले चाहेर या नचाहेर तपाइँ नै दोषी हो । जनता अहिले जसोतसो कोरोनाविरुद्ध सकेसम्म लडेका छन् ।

    ज्यान बचाउने प्रयास गरिरहेका छन् । अब जनताको ज्यान बचाउने अभियानमा लाग्नुस् भन्ने मेरो सुझाव छ । जनताकै स्तरमा सहयोग आदान प्रदान भएको छ । सहयोगी हातहरु संकटको बेला अगाडी आएर एकअर्काको दुखमा साथ खडा छन् तर हामीले यो दुखको घडीमा जनताको साथमा तपाई खडा भएको हेर्न चाहन्छौं । तपाइँलाई धेरै होइन जनता बचाउनुस भन्ने अपिल छ ।

    उही तपाइँको शुभचिन्तक

    विशाल अधिकारी, कपिलवस्तु

  • ३१ बैशाख २०७८, शुक्रबार १५:०३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images