काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले देशभरका सबै अक्सिजन उद्योगलाई डिमाण्ड शुल्क छुट गर्न मन्त्रीपरिषद्मा प्रस्ताव लैजाने निर्णय गर्नुभएको छ । २०७८ बैशाख देखि लागू हुने गरि असोज मसान्त सम्म खपत गरेको विद्युतको डिमाण्ड शुल्क मिनाह गर्ने गरि प्रस्ताव लैजान लागिएको हो ।
कोभिड १९ को बढ्दो संक्रमणले अस्पताल भर्ना हुने विरामीहरुको संख्या दिनानुदिन बढेपछि अक्सिजनको आपूर्तिलाई सहज बनाउन सो निर्णय गरिएको मन्त्री रायमाझीले बताउनुभयो । उहाँले उद्योगहरु २४ सै घण्टा सञ्चालन गर्नुपर्ने भएकाले मन्त्रालयको निर्णयले उद्योग सञ्चालक र उद्योगमा कार्यरत मजदूरहरुलाई राहत मिल्ने बताउनुभयो ।
कोभिडका कारण मानिसको मृत्युदर समेत बढिरहेकाले पशुपति आर्यघाटमा रहेको विद्युत शवदाह गृहको विद्युत डिमाण्ड शुल्क समेत छुट गरिने उहाँले जानकारी दिनुभयो ।
छुट शुल्क वापतको शोधभर्ना नेपाल विद्युत प्राधिकरणलाई नेपाल सरकारले उपलब्ध गराउन अर्थ मन्त्रालयको सहमतिको लागि पत्राचार समेत गरिएको छ । नेपाल सरकार (कार्य सम्पादन) नियमावली, २०६४ को अनुसूची १ विषयसंख्या ४१ अनुसार मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न लागिएको हो ।