मकवानपुर । कोरोना संक्रमितको उपचारमा सक्रिय रहेको मकवानपुरको हेटौँडा अस्पतालमा अक्सिजन अभाव भएको छ । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालमा बिरामीको चाप बढेसँगै संक्रमितहरुको उपचारमा प्रयोग हुँदै आएको अक्सिजन अभाव भएको हेटौँडा अस्पतालले जनाएको छ ।
अस्पतालमा अन्य जिल्लाबाट अक्सिजन आपूर्ति हुँदै आएको थियो । अस्पतालले २ सय ७३ वटा अक्सिजन सिलिन्डरलाई आलोपालो गर्दै हालसम्म संक्रमितहरुको उपचारमा प्रयोग गर्दै आएको थियो । अस्पतालमा एकदिनमा करिब २ सय ५० वटा अक्सिजन सिलिन्डर खपत हुँदै आएको हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा। सागर काफ्ले बताउँछन् । जिल्लामा अक्सिजन प्लान्ट नहुँदा र अन्य जिल्लामा भर पर्नुपर्ने अवस्थाका कारण अस्पतालमा अक्सिजन अभाव भएको हो ।
अस्पतालले ५१ वेड क्षमताको भेन्टिलेटरसहितको आईसीयू, एचडीयू र स्टेप डाउन कक्ष सञ्चालनमा ल्याएको छ । संचालनमा रहेका भेन्टिलेटर, आईसीयू, एचडीयूका सबै वेड संक्रमित विरामीले भरिएका छन् । हेटौँडा अस्पताललाई विरामीको चाप थेग्न समस्या हुन थालेपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मकवानपुरले चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पताललाई समेत कोरोना अस्पतालको रुपमा प्रयोग गर्दै आएको थियो । कुल ३० वेड क्षमताको दुबै अस्पतालमा पनि अक्सिजन अभावका कारण शुक्रबारबाट उपचार सेवा बन्द भएको छ ।