नक्कली क्रान्तिकारीले जनतालाई भ्रममा पार्न खोजे: प्रधानमन्त्री ओली
  • CIA Khabar

  • काठमाडौँ । प्रधानमन्त्री ओलीले पछिल्लो समय सरकारले गरेको कामहरु देखेर आफ्नो राजनीतिक भविष्य अन्धकार हुने देखेपछि नक्कली क्रान्तिकारीहरुले जनतालाई भ्रममा पार्न खोजेको बताउनुभएको छ ।

    राज्यको स्रोत, साधन र ज्ञानको सही रूपमा प्रयोग भई जनताका लागि परिणाम दिन सक्नुपर्नेमा जोड दिँदै उहाँले सरकार गठन गर्न नसक्नेहरूले मुलुकमा प्रतिगमन भएको आरोप लगाइरहेको बताउनुभयो । उहाँले आफू संविधान र कानुनअनुसार लोकतान्त्रिक प्रक्रियामा अगाडि बढिरहेको स्पष्ट पार्दै मुलुक लोकतान्त्रिक विधिबाट अघि बढेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘यति बेला पनि केही अस्थिरता चाहने, मुलुकमा शान्ति देख्न नचाहने तत्व लोकतान्त्रिक मूल्य मान्यताअनुसार संविधान र कानुनबमोजिम देश चल्ने कुरालाई आफ्ना स्वार्थमा जिद्दि गर्ने र देशमा प्रतिगमन भएको देख्छन् । आफूले सरकार बनाउन नसक्नु प्रतिगमन, अरुले सरकार बनाउनु प्रतिगमन, यस्तो तथाकथित नक्कली क्रान्तिकारी चश्माबाट हेर्छन् र अहिले पनि जनतालाई भ्रममा पार्न खोजिरहेका छन् ।’

    भ्रष्टाचार वा अनुचित लाभ लिने कार्य सह्य हुने चेतावनी दिँदै प्रधानमन्त्री ओलीले शुक्रबार तेस्रो कार्यकालका लागि पदबहालीपछि कोरोना भाइरसको महामारीमा कुनै अनियमितता हुन नदिन प्रतिबद्धता जनाउनुभयो । ‘यति बेला सबै एकजुट भएर महामारी रोकथाममा लाग्नुपर्नेमा सरकारका राम्रा कामलाई पनि अन्देखा गर्ने र असहयोग वा अनियमितता गर्ने प्रवृत्ति उचित होइन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कुनै पनि नाममा हुने भ्रष्टाचार वा अनुचित लाभ लिने कार्य सह्य छैन । सरकारले कडाइका साथ कारबाही गर्नेछ ।’

    मानवीय सेवाको उदात्त भावना अघिपछिभन्दा बढी प्रकट गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सबै राजनीतिक दललाई एकजुट भएर कोरोना नियन्त्रणमा लाग्न आह्वान गर्नुभयो । सबै दल, नेता र कार्यकर्तालाई विकराल स्थितिमा संवेदनशील भएर विधि र कानुनको पालना गर्न ओलीले आग्रह गर्दै उहाँले छिमेकी र मित्रराष्ट्रलाई महामारी नियन्त्रणमा सघाउन आग्रह गर्नुभयो ।

  • १ जेष्ठ २०७८, शनिबार १०:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images