रुपन्देही । निजी स्वास्थ्य संस्थाहरुबाट आफूखुसी औषधि लिएर प्रयोग गर्दा कोरोना संक्रमितको अवस्था थप जटिल बन्दै गएकोमा चिकित्सकहरुको चिन्ता व्यक्त गरेका छन् । सामान्य लक्षणका आधारमा कोरोना परीक्षण नगराई कडाखाले औषधि मेडिकलबाट लिएर प्रयोग गर्न थालेपछि केही संक्रमितहरु थप गम्भीर बनेको उनीहरुको निर्क्योल छ ।
आफूलाई पायक पर्ने मेडिकलबाट टाइफाइडको औषधि सेवनले कोरोना संक्रमितको वास्तविक अवस्था पत्ता नलागेको र परीक्षणबिना दिइने औषधिले फोक्सोमा जटिल समस्या देखिन थालेको र निमोनियाका कारण धेरैले ज्यान गुमाउनपरेको उदाहरण चिकित्सकले भेट्टाउन थालेका छन् ।
कोरोना विशेष अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले संक्रमणको शंका लागेकाहरुले यथासक्य छिटो परीक्षण गर्न र छातीको एक्सरेलगायतका अन्य परीक्षण गरी चिकित्सकको सल्लाहमा मात्र औषधि सेवन गर्न सुझाव दिन्छन् । उनले संक्रमित बिरामी तथा उनीहरुका आफन्तले आफूखुसी औषधि सेवन गराउँदा यसले अन्य असर गरिरहेको बताउँछन् ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा। राजेन्द्र खनालले परीक्षविना मेडिकलबाट लिइने औषधिले धेरैलाई जटिल समस्या ल्याएको बताउँछन् । ‘डक्टरको सिफारिसबिना नै औषधि लिने, मात्रा नमिलाउने, आफूखुसी अक्सिजन लिएर प्रयोग गर्ने गरेका कारण केही जटिल समस्या आउन थालेका छन् यसमा सबैले ध्यान पुर्याउन आवश्यक छ,’ उनले भने ।
पश्चिम नवलपरासीमा आउने अधिकांश संक्रमित बिरामीले सुरुमा टाइफाइडको औषधि सेवन गरेको पाइएको चिकित्सकहरुको भनाइ छ । टाइफाइड र कोरोनाको लक्षण उस्तै हुने भएकाले मेडिकलहरुले कोरोनाको परीक्षण नगराई औषधि दिँदा बिरामीहरुको अवस्था जटिल हुँदै गएको पृथ्वीचन्द्र जिल्ला अस्पतालका कोरोना फोकल पर्सन डा। राजकुमार गुप्ताले बताए ।
मेडिकलहरुले कडाखाले औषधि र सुईसमेत प्रयोग गर्ने भएकाले बिरामीहरुको अवस्था जटिल अवस्थामा पुगेको हो । त्यसरी औषधि सेवन गरेका बिरामीहरु ५र७ दिनपछि अस्पताल आउने र परीक्षण गर्दा कोरोना पुष्टि हुने गरेको अस्पतालले जनाएको छ ।