दोस्रो चरणको कोरोनाबाट सबैभन्दा बढी युवा सङ्क्रमित
  • CIA Khabar

  • इनरुवा । दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमण बढेसँगै यसको प्रभाव सबैभन्दा बढी युवा वर्गमा परेको पाइएको छ । सङ्क्रमितमध्ये २१ देखि ३० वर्ष उमेर समूहका युवाको सङ्ख्या बढी रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ। अहिलेसम्मको सङ्क्रमित सङ्ख्याको २८ दशमलव ९ प्रतिशत सङ्क्रमण यस उमेर समूमा देखिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ।

    त्यसैगरी ३१ देखि ४० वर्ष उमेर समूहका २३ दशमलव छ प्रतिशत सङ्क्रमित रहेका छन्। सङ्क्रमति हुनेमा ४१ देखि ५० वर्ष उमेर समूहका १६ दशमलव एक प्रतिशत रहेको स्वास्थ्य कार्यालय इनरुवा सुनसरीका प्रमुख सागर प्रसाईँले बताउनुभयो । ५१ देखि ६० वर्षसम्मका व्यक्ति १२ दशमलव दुई प्रतिशत सङ्क्रमति रहेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी ६१ देखि७० वर्षका ज्येष्ठ नागरिक ६ दशमलव ४ प्रतिशतमा कोरोना पोजिटिभ भएको पाइएको छ।

    त्यसैगरी ज्येष्ठ नागरिकतर्फकै ७१ देखि ८० वर्षको उमेर समूह तीन दशमलव एक प्रतिशत सङ्क्रमित रहँदा ८१ देखि ९० वर्ष उमेर समूह एक प्रतिशत र सोभन्दा माथिका उमेर समूह शून्य दशमलव एक प्रतिशत सङ्क्रमित पाइएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख प्रसाईँले बताउनुभयो । त्यसैगरी कोरोना सङ्क्रमित १० वर्षमुनिका बालबालिकाको सङ्ख्या तीन प्रतिशत रहेको उहाँले बताउनुभयो ।

    ११ देखि २० वर्ष उमेर समूहका ५ दशमलव ६ प्रतिशत सङ्क्रमित पाइएको छ । अहिलेसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजारभन्दा बढी रहेको छ भने मृतकको सङ्ख्या ४० पुगेको छ। जिल्लामा सङ्क्रमणको दर दैनिकरूपमा बढ्दै गएका कारणले यसबाट बच्नका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्यको मापदण्ड पूर्णरूपमा पालना गर्नका लागि सबै जिल्लावासीमा स्वास्थ्य कार्यालय सुनसरीले आग्रह समेत गरेको छ।

  • २ जेष्ठ २०७८, आईतवार १६:३६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images