काठमाडौँ । अक्सिजन अभावले मुलुकका विभिन्न अस्पतालमा कोभिड–१९ का बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का जहाजले विभिन्न मुलुकबाट धमाधम अक्सिजन सिलिण्डर नेपाल ल्याइरहेका छन् ।
निगमको वाइड बडी ए ३३० जहाजले चीन र ओमानबाट अक्सिजन सिलिण्डरलगायत अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । निगमको जहाजले बेइजिङ्बाट आइतबार र सोमबार ९७५ थान अक्सिजन सिलिण्डर काठमाडौँ ल्याएको छ । निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार दुई दिनमा क्रमशः ४०० र ५७५ अक्सिजन सिलिण्डर र १५७ अक्सिजन कन्सर्नटेटर ल्याइएको छ ।
चीनबाट थप दुई उडानमार्फत अक्सिजन सिलिण्डर ल्याउने तथा अन्य स्वास्थ्य सामग्री पनि ल्याउने योजना रहेको छ । निगमले यसअघि वैशाख २८ गते चीनबाटै ४०० थान अक्सिजन सिलिण्डर, १० थान भेण्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको थियो । यीसबै सामग्री चीन सरकारले अनुदान स्वरुप नेपाललाई दिएको हो ।